ढाका, मङ्सिर ११ गते । बङ्गलादेशको राजधानी ढाकास्थित भीडभाडपूर्ण कोरेल झुपडपट्टीमा मङ्गलबार साँझ लागेको भीषण आगलागीले करिब एक हजार ५०० झुपडी जलेर वा क्षतिग्रस्त भएसँगै हजारौँ बासिन्दा घरबारविहीन भएको अधिकारीहरूले बताएका छन् ।
आगलागीबाट कुनै मानवीय क्षति भएको खबर प्राप्त भएको छैन । अग्निशमन सेवा तथा नागरिक सुरक्षा विभागका ड्युटी अफिसर रसिद बिन खालिदका अनुसार आगो लागेपछि १६ घण्टापछि मात्र पूर्ण रूपमा नियन्त्रणमा ल्याइयो । अग्निशमन सेवाका निर्देशक लेफ्टिनेन्ट कर्नल मोहम्मद ताजुल इस्लाम चौधरीले आगोले विस्तृत क्षेत्रलाई प्रभाव पारेको र पीडितको सङ्ख्या अत्यधिक रहेको बताउनुभयो ।
करिब ६५ हेक्टर (१६० एकड) मा फैलिएको कोरेल झुपडपट्टीमा करिब ६० हजार परिवार बसोबास गर्छन्, जसमा जलवायु-प्रभावित शरणार्थीको सङ्ख्या उल्लेखनीय छ । ढाकाका उच्चस्तरीय गुलशन र बनानी जस्ता अभिजात आवासीय क्षेत्रसँगै जोडिएको यो झुपडपट्टी बस्ती अग्ला अपार्टमेन्ट र कार्यालय भवनले घेरिएको छ ।
आगलागी रातभर फैलिँदा क्षेत्रमा बाक्लो धुवाँको बादल देखिएको थियो । बुधबार बिहान बासिन्दा आफ्ना घरका भग्नावशेषबिच डुल्दै जले-नजलेका केही सामान खोज्दै व्यस्त देखिन्थे । अग्नि नियन्त्रकले साँघुरा गल्ली र अव्यवस्थित संरचनाका कारण घटना स्थलसम्म पुग्न निकै कठिनाइ भएको बताए ।
सन् २०२४ मा एक करोड २० लाख जनसङ्ख्या नाघिसकेको ढाका सयौँ झुपडी बस्तीको प्रमुख आश्रय स्थल बनेको छ । ग्रामीण बङ्गलादेशमा गरिबी, रोजगारीको अभाव तथा जलवायु-प्रेरित प्रकोपले पीडितलाई सहरका यस्ता भीडभाड र जोखिमपूर्ण बस्तीमा बसाइँ सर्न बाध्य बनाउने गरेको छ ।
जहाँ उनीहरूले दैनिक श्रमिक, रिक्सा चालक, घरेलु कामदार र सरसफाइ कर्मचारीका रूपमा गुजारा चलाउँदै आएका छन् । अधिकारीले प्रभावित बासिन्दाको उद्धार, राहत र पुनर्वासमा चाँडो व्यवस्था मिलाइने आश्वासन दिएका छन् । रासस/एपी