काठमाडौँ, मङ्सिर ११ गते । नेपाल प्रिमियर लिग (एनपिएल) मा जितका लागि लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई एक सय ४४ रनको मध्यम लक्ष्य दिएको छ ।
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनी लायन्सले १९.४ ओभरमा ओभरमा सबै विकेटको क्षतिमा एक सय ४३ रन बनायो ।
लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३५ रन बनाउनुभयो । उहाँले ३६ बलमा तीन चौकाको सहयोगमा उक्त रन बनाउनुभएको हो । यस्तै दीलिप नाथले ३१, डी’आर्की सर्ट र सुमित महर्जनले समान १८/१८ र गुलवदिन नईवले ११ रन बनाउनुभयो ।
बलिङमा सुदूरपश्चिमका अविनाश बोहरा र हर्मित सिंहले तीन तीन विकेट लिनुभयो । यस्तै हेमन्त धामीले दुई तथा स्कट कग्लेइजनले एक विकेट लिनुभयो ।
लिगमा अपराजित सुदूरपश्चिम आजपनि आफ्नो लय कायम राख्ने तयारीमा छ । यता लुम्बिनी सुदूरपश्चिमलाई रोक्दै प्लेअफतर्फ लम्कने प्रयासमा छ ।
अघिल्ला तीन खेलमा अपराजित सुदूरपश्चिम ६ अङ्कसहित तालिकाको शीर्षस्थानमा छ । तीन खेलमा एउटा मात्र जित निकालेको लुम्बिनी दुई अङ्कसहित तालिकाको छैटौँ स्थानमा छ ।