• ११ मंसिर २०८२, बिहिबार

झुगला पक्की पुल निर्माणमा ढिलाइ

blog

पुल निर्माण भइरहेको स्थान ।

सन्तोषी रावल

बाजुरा, मङ्सिर ११ गते । सुदूरपश्चिम प्रदेशमा पर्ने बाजुरा र कर्णाली प्रदेशमा पर्ने मुगु जिल्लालाई जोड्ने झुगला पक्की पुल निर्माणको काममा ढिलाइ भएको छ । 

बाजुरादेखि मुगुको रारा हुँदै कर्णाली प्रदेशको सबै जिल्ला जोड्नेगरी भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय कर्णाली प्रदेश सरकारले कर्णाली नदीको झुगलामा पक्की पुल निर्माणका लागि करिब १४ करोड ४९ लाख रकम विनियोजन गरेको थियो ।

बाजुराको हिमाली गाउँपालिका र मुगुको खत्याड गाउँपालिकाको बिचमा पर्ने कर्णाली नदीस्थित झुगलामा पक्की पुल निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीको लापरबाहीका कारण पुल निर्माण कार्यमा ढिलाइ भएको हो । 

२०८१ साल मङ्सिरमा काम सम्पन्न गर्नेगरी २०७९ साल मङ्सिरमा कुशेश्वर कन्स्ट्रक्सन प्रालिले १४ करोड ४९ लाखमा सो पुल निर्माणका लागि सम्झौता गरेको थियो ।

यहाँ केही वर्ष पहिला झुगलामा बेलिब्रिज पुल निर्माण गरिएको थियो । अहिले यही पुलदेखि बाजुरा र मुगुमा यातायातका साधन जिप, ट्याक्टर लगायतका सवारी साधन सुचारु हुने गरेका छन् । 

२०७८ सालमा सम्झौता भए पनि सरकारले डिजाइन स्टिमेट निर्माण गर्दा ढिलाइ गरेपछि पुल निर्माण कार्यमा ढिला भएको कुशेश्वर कन्स्ट्रक्सन प्रालि काठमाडौँका ठेकेदार जयराज घलेले बताउनुभयो । उहाँले भन्नुभयो, “अरुभन्दा कर्णाली नदीमा पुल निर्माण गर्न निकै गाह्रो छ । बर्खामा पानीको बहाव बढ्छ । हिउँदमा आएर पानीको बहाव घट्छ । अर्को यहाँ काम गर्दा केही समान बिग्रियो भने पनि त्यो समान सपारेर यहाँसम्म ल्याउन तीन–चार महिना समय लाग्छ ।”

अहिले एक वर्षको म्याद पुनः थप गरिएको छ । आगामी २०८२ सालको चैतभित्र पुल निर्माणको काम सम्पन्न गर्नेगरी काम भइरहेको ठेकेदार घलेले बताउनुभयो । यता झुगलामा पक्की पुल निर्माण भएसँगै सुदूरपश्चिमका नौवटै जिल्लाका स्थानीयलाई बाजुरादेखि रारा जान निकै सहज हुने हिमाली गाउँपालिकाका अध्यक्ष गोबिन्द्रबहादुर मल्लले बताउनुभयो ।

सम्झौता भएअनुसार सो कम्पनीले त्यस ठाउँमा एकसय पाँच मिटर लम्बाइको पक्की पुल निर्माणका लागि कम्पनीले १४ करोड ४९ लाख रुपियाँमा सम्झौता गरेको छ ।  ठेकेदार कम्पनीले यो सम्झौता गरे अनुसारको काम सम्पन्न नगरेकाले अहिले फेरि म्याद थपेको छ । पुल निर्माण कार्य ढिला भइरहेको स्थानीयले बताएका छन् ।