• ११ मंसिर २०८२, बिहिबार

उखुको मूल्य प्रतिक्वीन्टल ७५० रुपियाँ कायम गर्न माग

blog

सर्लाहीको गोडैताका किसानले लगाएको उन्नत जातको उखु बाली । तस्बिर : जनार्जन खत्री

जनार्जन खत्री
सर्लाही, मङ्सिर ११ गते ।
किसानले यो वर्ष उखुको प्रतिक्वीन्टल मूल्य ७५० रुपियाँ कायम गर्न माग गरेका छन् । उखु उत्पादक कृषकले कृषि तथा पशुपन्छी विकास मन्त्री डा. मदनप्रसाद परियारलाई भेटेर यस वर्ष २०८२/८३ को क्रसिङ सिजनमा उखुको न्यूनतम समर्थन मूल्य प्रतिक्वीन्टल ७५० रुपियाँ निर्धारण गर्न माग गरेका हुन् । सरकार, उद्योगी र किसानको त्रिपक्षीयसहमति अनुसार उखुको मूल्य तोक्नुपर्ने कृषकको माग रहेको छ ।

सर्लाही, महोत्तरी, रौतहट, बारा, सिरहा, सुनसरी, नवलपरासी र कञ्चनपुर जिल्लाका अगुवा उखु कृषकले कृषि मन्त्री परियारलाई भेटेर ज्ञापन पत्रसमेत बुझाएका छन् । उखु किसानले गत वर्ष २०८१/८२ को बाँकी अनुदान रकममध्ये प्रतिक्वीन्टल ३५ रुपियाँका दरले भुक्तानी पाउन बाँकी रहेकाले उक्त अनुदान रकम मङ्सिर १३ गतेभित्र भुक्तानी गर्न माग गरेका छन् ।

गत वर्ष सरकारले उखुको मूल्य निर्धारण गर्दा किसानलाई चिनी मिलले प्रतिक्वीन्टल ५८५ रुपियाँ र सरकारले अनुदान बापत ७० रुपियाँ उपलब्ध गराउने निर्णय गरेको थियो तर सरकारले अनुदान रकम कोषा तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) मा पठाउँदा प्रतिक्विन्टल ३५ रुपियाँका दरले मात्रै निकासा गरेको थियो । बाँकी ३५ रुपियाँ भुक्तानी माग्दै किसानले आ–आफ्नो जिल्ला तथा सङ्घीय राजधानी काठमाडौँसमेत पुगेर आन्दोलन गरिसकेका छन् ।

अब यो वर्षको उखु क्रसिङका लागि चिनी मिल सञ्चालन हुने समय भएसँगै किसानले पुरानो अनुदान रकम भुक्तानी दिन र यो वर्षको लागि मूल्य तोक्न माग गरेका हुन् । उखु उत्पादक महासंघ नेपाल सर्लाहीका अध्यक्ष श्यामबाबु रायले मङ्सिर १३ गतेसम्म गत वर्षको अनुदान रकम भुक्तानी नपाए आन्दोलनमा उत्रने तयारी गरिएको जानकारी दिनुभयो ।

रायले माग पूरा नभए मङ्सिर १४ गतेदेखि सर्लाहीको हरिवनस्थित पूर्व–पश्चिम राजमार्गमा चक्काजाम सुरु गर्ने बताउनुभयो । उखुको मूल्य निर्धारण गराउन किसानले वर्षेनि आन्दोलन गर्दै आइरहेका छन् ।

सरकारले गत वर्षको अनुदान रकम आधा मात्रै भुक्तानी गरेको र यो वर्षदेखि अनुदान रकम नै कटौति गरेपछि उखु किसान असन्तुष्ट रहेका छन् । बारम्बार ध्यानाकर्षण गराउँदासमेत सुनुवाइ नभएपछि अब आन्दोलनको तयारी भइरहेको अगुवा उखु किसान एवम् गोडैता नगरपालिकाका प्रमुख देवेन्द्र यादवले बताउनुभयो ।