जनार्जन खत्री
सर्लाही, मङ्सिर ११ गते । वर्षौदेखि खानेपानीको चरम अभाव झेल्दै आएका सर्लाहीको हरिवन नगरपालिका–१, बिलन्दीका स्थानीय घर घरमै खानेपानीको धारा झरेपछि दङ्ग परेका छन् ।
हिउँदको महिनामा खानेपानीको खोजी गर्दै खोलाखोल्सा धाउन बाध्य स्थानीय अहिले भने घरकै धारामा पानी झरेपछि हर्षित भएका हुन् । २०२२ सालदेखि बसोवास रहेको बिलन्दीका स्थानीयले एक किलोमिटर तल चुरेफेदीमा रहेको कोठी खोलाबाट पानी ओसारेर पिउने गरेका थिए ।
चुरेपाखामा पर्ने बिलन्दीमा हरिवन १ नं. वडा कार्यालयले आठ लाख रुपियाँ खर्चिएर ३० घरधुरीमा खानेपानीको धारा खसालेको हो । बस्तीदेखि माथि रहेको चुरेपाखामा बगिरहने पानीको मुहानमा पाइप लगाएर बस्ती नजिकै २५ हजार लिटर क्षमताको खानेपानी ट्याङकी निर्माण गरिएको छ ।
ट्याङ्कीमा जम्मा भएको पानी बिहान, बेलुका घरघरको धारामा छाड्ने गरिएको छ । बिलन्दी डाँडाकी गृहणी रश्मिला बम्जनले घरमै खानेपानीको धारा झरेपछि दैनिकी नै फेरिएको बताउनुभयो ।
दुई गाग्री पानीले दिनभर पुर्याउनुपर्ने बाध्यता टरेको भन्दै बम्जनले खुसी व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “खोलाबाट ल्याएको दुई गाग्री पानीले बिहानदेखि बेलुकासम्म पुर्याउनुपर्थ्यो, तर अहिले त धारामै पर्याप्त पानी आएपछि त्यस्तो बाध्यता छैन ।”
धारामा पानी नआउँदासम्म स्थानीयलाई सरसफाई गर्ने र चौपायलाई खुवाउने पानी जुटाउनसमेत असाध्य कष्ट थियो । नाम्लो लगाएर खोलाखोल्साबाट पानी बोकेर ल्याउन बाध्य सखुवनी डाँडामा अहिले अवस्था फेरिएको छ ।
अर्का स्थानीय लक्ष्मी योन्जनले खानेपानीको खोजीमा घरको काम छाडेर खोलाखोल्सा हिँड्नुपर्ने बाध्यता हटेको बताउनुभयो । “अहिले त बिहान, बेलुका पुग्ने गरी घरकै धारामा पानी आइरहेको छ,” योन्जनले भन्नुभयो, “खानेपानीकै लागि काम छाडेर रातिराति खोलाखोला हिँड्नु परेको छैन् । धेरै सुविधा भएको छ ।”
हरिवन १ मा वडा र नगरपालिका कार्यालयले प्राथमिकताका साथ चुरेका बस्तीमा क्रमशः खानेपानी सुविधा पु¥याइरहेका छन् । हरिवन १ मा अहिलेसम्म कोठीखोला, सखुवनी, बिलन्दी, केराबारी र बनमारा बस्तीमा खानेपानी सुविधा पुगिसकेको हरिवन १ का वडाध्यक्ष टमबहादुर तामाङले जानकारी दिनुभयो ।
अन्य ठाउँमा सौर्य उर्जामार्फत लिफ्टिङ गरी खानेपानी वितरण गरिए पनि बिलन्दीमा भने बस्तीदेखि माथि अग्लो डाँडामा मुहान रहेकाले सोझै पाइपमार्फत ट्याङ्कीमा पानी जम्मा पारेर वितरण गरिएको वडाध्यक्ष तामाङको भनाइ छ । “बस्तीदेखि माथि मुहानबाटै सोझै पाइपमा पानी आउने भएकाले लिफ्टिङ गर्नु परेन,” वडाध्यक्ष तामाङले भन्नुभयो, “लिफ्टिङ गर्नु नपर्दा आठ लाख रुपियाँमै ट्याङ्की निर्माण र पाइप बिछ्याउने काम सम्पन्न गरेर खानेपानी वितरण गर्न सफल भएका हौँ ।”
खडेरीको समयमा मुहानमै पानी घटेर कम पानी आउने र वन क्षेत्रमा डढेलो लाग्दा पाइप जल्ने चिन्ता भने रहेको वडाध्यक्ष तामाङको भनाइ छ ।