• ११ मंसिर २०८२, बिहिबार

भैरहवा सेजमा जग्गाको भाडा घट्यो

blog

भैरहवा समाचारदाता

भैरहवा, मङ्सिर ११ गते । सरकारले विशेष आर्थिक क्षेत्र (सेज) भित्रको जग्गा भाडादर प्रतिवर्गमिटर २० रुपियाँबाट घटाएर पाँच रुपियाँ मात्र कायम गरेपछि भैरहवा सेजका उद्योगी उत्साहित भएका छन् । सोमबार बसेको मन्त्रीपरिषद् बैठकले गरेको निर्णयपछि सेजभित्रको लगानी वातावरण थप सहज हुने उद्योगीको अपेक्षा छ ।

इको नेपाल इनर्जी इन्डस्ट्रिज प्रालिका अध्यक्ष अजयमान श्रेष्ठले सरकारको निर्णयले ठुलो राहत मिलेको बताउनुभयो । “जग्गाको भाडादर घटायो भन्ने सुन्दा नै विश्वास लागेन,” उहाँले भन्नुभयो, “अब उद्योग सञ्चालन अझ सहज हुने छ ।”

इको नेपाल इनर्जीले एक वर्षअघि मात्रै विशेष आर्थिक क्षेत्र सेजबाट उत्पादन थालेको थियो । यस उद्योगले स्थानीय कच्चा पदार्थमा आधारित फोहोर र खेर गइरहेको रबरजन्य वस्तु सङ्कलन गरी औद्योगिक तेल, ब्ल्याक कार्बन तथा स्टिल तार उत्पादन गर्दै आएको छ । उद्योगी श्रेष्ठले भन्नुभयो, “सेजको भाडा घटेपछि अब स्वाभाविक रूपमा उत्पादन लागत पनि घट्छ, यसले सेजभित्रका सबै उद्योगलाई ठुलो राहत दिएको छ ।” 

सेजभित्र उद्योगीलाई कच्चा पदार्थ आयातमा भन्सार छुट, निर्यातमा भ्याट छुट, विद्युत्मा १० प्रतिशत छुट, बैङ्क–बिमा–भन्सार एउटै स्थानबाट सेवा उपलब्ध गराउने जस्ता सुविधा दिने सरकारको योजनामध्ये केही कार्यान्वयनमा छन् । जग्गा भाडादरमा छुट हुन ढिला हुँदा उद्योगी निराश थिए । श्रेष्ठका अनुसार भाडादर घटेपछि निर्यातमूलक उद्योग आकर्षित हुने र लगानीकर्ता बढ्ने छ । 

नयाँ निर्णय अनुसार सेजभित्रका उद्योगीले अब मात्र २५ प्रतिशत भाडा तिर्ने छन् । सेजमा उद्योग सञ्चालन गरिरहेको पञ्चकन्याका ग्रुपका प्रबन्ध निर्देशक देवेन्द्र साहुका अनुसार यो निर्णयले उद्योगलाई ठुलो राहत दिएको छ । उहाँले भन्नुभयो, “चालु आर्थिक वर्ष २०८२/८३ को बजेटमा भाडा घटाउने विषय आएको थियो, भाडा नघट्दा हामी उत्पादन बन्द गर्ने अवस्थामा थियौँ, ढिलै भए पनि सरकारले ढाडस दिएको छ ।” 

भैरहवा सेजका प्रमुख सवुत डुम्रेले उद्योगीले जग्गाको भाडा घटाउन विगतदेखि नै माग गर्दै आएकोमा सरकारले माग पूरा गरेपछि उनीहरूलाई ठुलो राहत मिलेको बताउनुभयो । डुम्रेका अनुसार सेजमा हाल १२ वटा उद्योग निर्माण गरी सञ्चालनमा छन् भने सात वटा निर्माणाधीन छन् । उहाँले सेजमा रहेका ६८ वटा प्लटमध्ये १९ वटा उद्योगले ५२ वटा प्लट लिएको र बाँकी १६ वटा प्लट पनि बुक भइसकेको बताउनुभयो । 

सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नेत्र आचार्यले भाडादर घट्ने निर्णय स्वागतयोग्य भएको बताउनुभयो । “यो विषयमा बजेटमै नीतिगत व्यवस्था गरिएको थियो तर त्यसमा पनि तीन महिनापछि लागु गर्ने नियम राखिएको थियो,” आचार्यले भन्नुभयो, “हामीले हालको मन्त्रीपरिषद्मा पनि यो कुरा राख्दै आएका थियाैँ, अहिले आएर सम्बोधन भएछ ।”