६१ वर्षीय शोभाकलीले जन्माएको सन्तानको भूपेन्द्रगज नामकरण गरिएपछि वरिष्ठ संरक्षण अधिकृत यादवले माला, अबिर लगाइदिएर खुसी व्यक्त गर्नुभएको थियो ।
बाबुराम कार्की
वराहक्षेत्र (सुनसरी), मङ्सिर ११ गते । कोशीटप्पु वन्यजन्तु आरक्षको पश्चिम भाकलपुर पोस्टमा ११ दिनअघि जन्मिएको छावाको धार्मिक विधि अनुसार न्वारन गरिएको छ । आरक्षको गस्ती गर्न पालनपोषण गरी पोस्टमा राखिएकी शोभाकलीबाट सातौँ सन्तानका रूपमा जन्मेको छावाको धार्मिक विधि अनुसार न्वारन गरिएको हो ।
आरक्षका वरिष्ठ संरक्षण अधिकृत भूपेन्द्रप्रसाद यादवसहित नेपाली सेनाका अधिकृत तथा कर्मचारीहरूको बाक्लो उपस्थितिमा न्वारन गरिएको हो । शोभाकलीलाई सिँगारेर पूजारीले दियो, कलशसहित पूजाकर्म गरी मिष्ठान्न भोजन गराइएको थियो । नवजात छावाको नाम भूपेन्द्रगज राखिएको छ ।
६१ वर्षीय शोभाकलीले जन्माएको सन्तानको भूपेन्द्रगज नामकरण गरिएपछि वरिष्ठ संरक्षण अधिकृत यादवले माला, अबिर लगाइदिएर खुसी व्यक्त गर्नुभएको थियो । न्वारनमा हात्तीसारका कर्मचारी, माहुते, संरक्षणकर्मी सबैले भूपेन्द्रगजको जन्ममा खुसियाली व्यक्त गरेका थिए । कोशीटप्पुमा नयाँ हात्ती जन्मिनु आरक्षको वन्यजन्तु व्यवस्थापन तथा संरक्षणका लागि सुखद् सङ्केत भएको प्रमुख संरक्षण अधिकृत यादवले बताउनुभयो ।
आरक्षको संरक्षणमा रहेका हात्तीले बच्चा जन्माउँदा जन्मिएको ११ औँ दिनमा धार्मिक विधि अनुसार न्वारन गरिँदै आएको वरिष्ठ संरक्षण अधिकृत यादवले बताउनुभयो । नवजात छावाको नाम प्रमुख संरक्षण अधिकृतको उपस्थितिमा राख्ने चलन अनुसारै भूपेन्द्रगज राखिएको बताइएको छ ।
शोभाकलीका यसअघिका चौथो, पाँचौँ र छैठौँ सन्तान खेर गएका थिए । सातौँ सन्तान भूपेन्द्रगज भने स्वस्थ रहेको राष्ट्रिय प्रकृति संरक्षण कोषका कोशी प्रदेश प्रमुख वीरेन्द्र गौतमले बताउनुभयो । उहाँले भन्नुभयो, “शोभाकलीलाई सुत्केरी भएदेखि नै वरिष्ठ भेटेरिनरी प्राविधिकको निगरानीमा राखिएको छ ।” कोशीटप्पुबाट तीन वर्षअघि शोभाकलीलाई आरक्षको पश्चिमी पोस्ट भाकलपुरमा लगिएको थियो । फिरन्ते जङ्गली हात्तीसँगको सहवासबाट सातौँ सन्तान जन्मिएको आरक्ष कार्यालयले जनाएको छ ।
आरक्षणमा लामो समयदेखि प्रशिक्षित हात्तीमार्फत गस्ती प्रणालीलाई प्रभावकारी बनाउँदै आएको छ । कोशी टप्पु वन्यजन्तु आरक्षमा हाल १५ वटा हात्ती रहेकोमा चार वटा हात्ती काजमा चितवन राष्ट्रिय निकुञ्ज लगिएको छ । आरक्षमा रहेका तालिम प्राप्त हात्तीबाट मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण, गैँडालगायत अन्य वन्यजन्तुको निगरानी, घाँस–वनस्पति क्षेत्र व्यवस्थापन र अवैध गतिविधि रोकथाममा महत्वपूर्ण भूमिका रहेको आरक्ष कार्यालयले जनाएको छ ।