• १० मंसिर २०८२, बुधबार

संसद पुनःस्थापना पहिलो शर्त हो : पूर्वमन्त्री गुरुङ

blog

धनगढीमा आयोजित जागरण सभालाई सम्बोधन गर्दै एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ । तस्बिरः निराजन परियार

निराजन परियार

चौमाला (कैलाली), मङ्सिर १० गते । नेकपा (एमाले) का उपमहासचिव तथा पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले संसद पुनःस्थापना पहिलो शर्त भएको बताउनुभयो । उहाँले जेनजीसहितको सहभागितामा सर्वपक्षीय सरकार बनाएर सुशासन कायम, भ्रष्टाचार नियन्त्रण लगायतको माग सम्बोधन गर्न सकिने बताउनुभयो।

जेनजी आन्दोलनको नाममा व्यवस्थापिका, न्यायपालिका र कार्यपालिका जलाएर सबैलाई आतंकित पार्ने काम भएको उहाँको भनाइ छ । उहाँले प्रतिनिधि सभा पुनःस्थापना गरेर संविधानलाई लिकमा ल्याउनुपर्ने अहिलेको आवश्यकता भएको बताउनुभयो । बुधबार राष्ट्रिय युवा संघ सुदूरपश्चिमले धनगढीमा आयोजना गरेको जागरण भेलालाई सम्बोधन गर्दै उपमहासचिव गुरुङले मुलुकका तीनवटै अंग कार्यपालिका, न्यायपालिका र व्यवस्थापिक संकटमा रहेको बताउनुभयो । 

जागरण सभालाई सम्बोधन गर्दै एमाले सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले जेनजीको नाममा नेकपा (एमाले) माथि आक्रमण भइरहेको बताउनुभयो । उहाँले एमालेले राष्ट्रियता र देशको पक्षमा काम गरेकै कारण पार्टीमाथि आक्रमण भइरहेको दाबी गर्नुभयो ।