• १० मंसिर २०८२, बुधबार

एमाले महाधिवेशन सचिवालय बैठक : समितिको प्रतिवेदनमाथि छलफल

blog

काठमाडौँ, मङ्सिर १० गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशन सम्पन्न गर्न गठित समितिको प्रतिवेदनमाथि छलफल भएको छ । ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा महाधिवेशन सचिवालयको आज बसेको बैठकमा समितिले हालसम्म महाधिवेशनको तयारीका सन्र्दभमा गरेको प्रतिवेदनमाथि छलफल गरिएको एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो । 

उहाँका अनुसार सबै समितिले महाधिवेशनको तयारीलाई अन्तिम चरणमा पुर्याएको छ । एमालेले महाधिवेशन सम्पन्न गर्न विभिन्न १४ वटा समिति गठन गरेको थियो । प्रचार विभाग प्रमुख गौतमकाअनुसार बैठकले भक्तपुरको सल्लाघारीस्थित मैदानमा महाधिवेशन उदघाटन कार्यक्रम गर्ने निर्णय गरेको छ । बन्दसत्र भने भृकुटीमण्डपमा हुने छ । 

यसै गरी दोस्रो विधान महाधिवेशनले तय गरेको नारा ‘निर्णायक राष्ट्रिय शक्ति निर्माणको संकल्पः समृद्ध नेपाल र सुखी नेपाली हाम्रो गन्तव्य’ लाई राष्ट्रिय महाधिवेशनको मुख्य नारा बनाइने निर्णय भएको छ । एमाले महाधिवेशन यही मङ्सिर २७ गतेदेखि २९ गतेसम्म हुँदै छ । रासस