अविनाश चौधरी
धनगढी, मङ्सिर १० गते । नेकपा (एमाले) का नेता महेश बस्नेतविरुद्ध प्रदर्शनमा उत्रेका जेनजी युवा प्रदर्शनकारीमाथि एमालेको भातृ सङ्गठन युवा सङ्घका कार्यकर्ताले आक्रमण गरेका छन् ।
बुधबार धनगढीको कभर्ड हल अगाडि सडकमा प्रदर्शनमा उत्रेका जेनजी प्रदर्शनकारीमाथि भएको आक्रमणबाट जेनजी लिडर सरिता जोशीसहित केही जेनजी युवा घाइते भएका हुन् । युवा सङ्घका युवाको हातबाट जोशीसहित केही युवालाई चोटपटक लागेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिनुभयो ।
राष्ट्रिय युवा सङ्घले आयोजना गरेको युवा जागरण अभियानलाई सम्बोधन गर्नका लागि एमाले नेता बस्नेत आउने भनिएपछि बिहानैबाट युवाले हातमा प्लेकार्ड बोकेर प्रदर्शन थालेका थिए । युवा सङ्घले कार्यक्रम आयोजना गरेको कैलाली उद्योग वाणिज्य सङ्घ नजिक बाटोमा जेनजीले प्रदर्शन गरेका थिए । जेनजी युवा र एमाले निकटको युवा सङ्घ आमनेसामने भएपछि केही समयसम्म स्थिति तनावग्रस्त बनेको थियो । सम्भावित दुर्घटना हुन नदिनका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी परिचालन गरिएको थियो ।
मोटरसाइकल र्याली गर्दै आएका युवा सङ्घका कार्यकर्ताले प्रहरीको सुरक्षा घेरा तोडेर जेनजीमाथि हातपात गरेका थिए ।