बैङ्कक, मङ्सिर १० गते । दक्षिणी थाइल्यान्डमा आएको बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या बुधबारसम्म ३३ पुगेको छ । बाढीका कारण थाइल्यान्ड र छिमेकी मलेसियामा हजारौँ मानिस विस्थापित भएका छन् । निरन्तर परेको भारी वर्षाले दक्षिणी प्रान्तहरूमा जनजीवन पूर्णरूपमा अस्तव्यस्त बनेको अधिकारीले बताएका छन् ।
थाई सरकारले दक्षिणी सोङ्खला प्रान्तमा मङ्गलबार आपतकालीन अवस्था घोषित गरेको छ । गत हप्ताको अन्त्यदेखि परेको अविरल वर्षाले हट याईजस्ता प्रमुख पर्यटन क्षेत्रदेखि अन्य दक्षिणी भागसम्म डुबान व्यापक रहेको छ । एएफपीले बुधबार सार्वजनिक गरेका तस्वीरमा हट याईका आवासीय क्षेत्रका सडक र घरका भुइँतला पानी मुनि डुबेको देखिन्छ ।
थाई सरकारका प्रवक्ता सिरिपोङ अङ्कासाकुलकियातले सात प्रान्तमा ३३ जनाको मृत्यु भएको पुष्टि गर्दै तीमध्ये आकस्मिक बाढी, करेन्ट लागेर मृत्यु र डुबानका घटना प्रमुख कारण रहेको बताउनुभयो । उहाँका अनुसार दक्षिणी भागमा पानीको सतह क्रमशः घट्ने अनुमान गरिएको छ । विपद रोकथाम तथा न्यूनीकरण विभागले करिब दश लाख जनसङ्ख्या रहेको सात प्रान्तमा गम्भीर बाढी फैलिएको र हजारौँ बासिन्दा घर तथा होटलमै फसेको जानकारी दिएको छ ।
उद्धार कर्ता टोलीले डुङ्गा, जेट-स्की र सैन्य ट्रकमार्फत कठिन परिस्थितिबिच स्थानीयलाई सुरक्षित स्थानमा पुर्याउने कार्य जारी राखेका छन् । सेनाले बिरामीलाई नजिकैका अस्पतालसम्म पुर्याउन विमानवाहक साधन र हेलिकप्टर परिचालन गरेको जनाएको छ । सोङ्खला प्रान्तीय सूचना विभागका अनुसार गत हप्तादेखि १० हजारभन्दा बढी बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ ।
विश्वविद्यालयका क्याम्पस अस्थायी आश्रयस्थलका रूपमा प्रयोग भइरहेका छन् । प्रान्तीय प्रशासनले दैनिक २० हजारसम्म खाद्य प्याक वितरण गर्न सकिने गरी विशेष खाद्य आपूर्ति केन्द्र स्थापना गरेको छ । थाइल्यान्डमा जुनदेखि सेप्टेम्बरसम्म भारी वर्षा सामान्य मानिए पनि विज्ञले मानव-सिर्जित जलवायु परिवर्तनले चरम मौसमी घटनालाई थप तीव्र र अप्रत्याशित बनाइरहेको चेतावनी दिएका छन् ।
यता, छिमेकी मलेसियामा पनि भारी वर्षापछि आएको बाढी आठ राज्यमा फैलिएको छ । आगामी दिनमा थप वर्षा हुने मौसम पूर्वानुमानकर्ताको चेतावनीसँगै अवस्थाले अझ चुनौतीपूर्ण मोड लिन सक्ने अनुमान गरिएको छ । यो हप्ता मात्र २७ हजारभन्दा बढी मानिसलाई अस्थायी आश्रयस्थलमा सारिएको छ । उत्तरपूर्वी तटको केलान्टन राज्यमा एक जनाको मृत्यु भएको उद्धार अधिकारीले जनाएका छन् ।
मलेसियाको मौसम विभागले उत्तरी राज्य-पर्लिस, केदाह, पेनाङ र पेराकमा बुधबारसम्म आँधीबेहरी जारी रहने चेतावनी दिएको छ । नोभेम्बरदेखि मार्चसम्म चल्ने उत्तरपूर्वी मनसुनका कारण तीन करोड ४० लाख जनसङ्ख्या भएको देशमा हरेक वर्ष बाढीको जोखिम उच्च रहन्छ ।
सीमा पार प्रभाव पनि देखिन थालेको छ । गत हप्ता बाढीले दक्षिणी थाइल्यान्डमा हजारौँ मलेसियाली पर्यटक होटलमै फसेपछि मलेसियाको विदेश मन्त्रालयले लगातार निगरानी गरिरहेको जनाएको छ । मन्त्रालयका अनुसार प्रभावित मध्ये अधिकांश बहुतले होटलमा बस्दै आएका थिए र सबैलाई सुरक्षितरूपमा व्यवस्थित गरिएको छ । सोमबारसम्म छ हजार ३०० भन्दा बढी मलेसियाली नागरिक थाइल्यान्डबाट सुरक्षितरूपमा सीमा पार गरी स्वदेश फर्कन सफल भएको मन्त्रालयले पुष्टि गरेको छ । रासस/एएफपी