• १० मंसिर २०८२, बुधबार

बिहीबार फरक जर्सीमा खेल्दै जनकपुर र पोखरा

blog

काठमाडौँ, मङ्सिर १० गते । काठमाडौँको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को आगामी खेलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स आफ्ना नियमित जर्सीभन्दा फरक रङ्गको विशेष जर्सीमा देखिने भएका छन् ।

वातावरण संरक्षणदेखि मानवीय संवेदनासम्मलाई समेट्दै यी जर्सीहरू विशेषरूपमा डिजाइन गरिएको हो । पोखरा एभेन्जर्सका खेलाडीहरूले हरियो जर्सी लगाउनेछन्, जसमा ‘ग्लासियर्स म्याटर’ अर्थात् हिमनदीहरु महत्त्वपूर्ण छन् भन्ने सन्देश प्रवाहित हुनेछ ।

नेपाल जलवायु जोखिममा रहेको एउटा उच्च संवेदनशील मुलुक हो । गण्डकी र पोखराको पहिचान हिमाल, हिउँ र प्राकृतिक सौन्दर्य हो । 

त्यसैले यसलाई जोगाउनु हाम्रो नैतिक जिम्मेवारी हो भन्ने उद्देश्यका साथ हिमनदी संरक्षण अभियानलाई जोड दिन ‘ग्लासियर्स म्याटर’ सन्देशसहित जर्सीको डिजाइन गरिएको पोखरा एभेन्जर्सका अध्यक्ष सुवोध त्रिपाठीले बताउनुभयो । 

जलवायु परिवर्तनले हिउँ पग्लिने, नयाँ हिमताल बन्ने, हिमालको आकार ठूलो हुने र हिमताल फुटेर बाढी आउने जोखिमसमेत बढेको यस अवस्थामा जलवायु परिवर्तनको चेतनालाई प्राथमिकता दिन उक्त जर्सी तयार गरिएको हो ।

यसैगरी जनकपुर बोल्ट्सका खेलाडीहरू गुलाबी जर्सीमा देखा पर्नेछन्, जुन सम्पूर्ण आमाहरूप्रति समर्पित हुनेछ । खेलपछि दुवै टोलीका जर्सीहरू च्यारिटी अक्सनमार्फत बिक्री गरिनेछन् । 

उक्त अक्सनबाट संकलित रकममध्ये पोखरा एभेन्जर्सका जर्सी बिक्रीबाट उठेको रकम ग्लासियर्स म्याटर जागरण अभियानमा खर्च गरिनेछ । यस्तै जनकपुर बोल्ट्सका जर्सीबाट उठेको रकम गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा सन्तान गुमाएका आमाहरूको सहयोगका प्रदान गरिनेछ ।

यस अभियानले खेलकुदमार्फत सामाजिक उत्तरदायित्वलाई थप सुदृढ पार्ने विश्वास लिइएको छ ।