• ९ मंसिर २०८२, मङ्गलबार

राजनीतिक अवस्था फेरिए पनि हरवा–चरवाको अवस्था नफेरिएको गुनासो

blog

पत्रकार सम्मेलनमा माग प्रस्तुत गर्नुहुँदै महासचिव लागेन्द्र पासवान । तस्बिर : विनय कर्ण

विनय कर्ण
कल्याणपुर (सप्तरी), मङ्सिर ९ गते ।
न्यून मजदुरीमा काम गर्नुपरेको बाध्यताले आफुहरुको परिवार पाल्न समस्या भएको हरवा–चारवाले गुनासो गरेका छन् ।

साहु महाजनको खेतवारीमा काम र वस्तुभाउ चराएर पाइने न्यून मजदुरीले जहान परिवारलाई पाल्न समस्या भएको गुनासो गर्दै हरवा–चरवाले नौ बुँदे माग पनि अघि सारेको छ ।

सरकारको ध्यानाकर्षण गराउन सोमबार राजविराजमा आयोजना गरिएको पत्रकार सम्मेलन मार्फत नौ बुँदे माग अघि सारेको हो ।

पत्रकार सम्मेलनमा मुक्त हरवा–चरवा अधिकार मञ्चका केन्द्रीय अध्यक्ष दशन मण्डलले मुलुकमा पटक पटक राजनीतिक अवस्था फेरिएपनी हरवा–चरवाको अवस्था नफेरिएको बताउनुभयो ।

हरवा–चरवाको जीवन दिनानुदिन कष्टकर बन्दै गएको भन्दै उहाँले कृषि बँधुवा मजदुर रुपमा दैनिक १६ घण्टाभन्दा बढी समय काममा जोतिन बाध्य भएको सुनाउनुभयो ।

“प्रायः एलानी, पर्ती, सडक किनार र पोखरीको डिलजस्ता ठाउँमा बसोवास गरेर कष्टकर जीविका धान्दै आएका हरवा–चरवालाई पटक पटक फेरिने सरकारहरुबाट आश्वासन बाहेक केही पाएको छैन’’ उहाँले गुनासो पोख्नुभयो ।

मञ्चका महासचिव लागेन्द्र पासवानले मञ्चको तर्फबाट नौ बुँदे माग सार्वजनिक गर्नुहुँदै हरवा–चरवा परिवारलाई बासस्थलको व्यवस्था, स्थानीय तहमा श्रम निर्देशिका तयार गरी न्यूनतम पारिश्रमिकको व्यवस्था, हरवा–चरवा बालबालिकालाई विशेष छात्रवृतिको व्यवस्था, हरवा–चरवा परिवारको आयआर्जनका लागि सीप मुलक तालिमको व्यवस्था, स्वास्थ्य बिमाको व्यवस्था तथा शहरी क्षेत्रमा एककठ्ठा र ग्रामीण क्षेत्रमा दुई कठ्ठा जग्गा भूमिहिन हरवा–चरवालाई सहयोग वापत सरकारले उपलब्ध गराउनु पर्ने माग गर्नुभयो ।

हरवा–चरवाको सशक्तीकरणका लागि सहयोग गरिरहेका फ्रिडम फन्डका कार्यक्रम सल्लाहाकार ब्रह्मदेव रामले मधेश प्रदेशमा झण्डै एक लाखको हाराहारीका हरवा चरवा रहेको बताउनुभयो । उहाँले यस तर्फ तीनै तहका सरकारले सहयोग गर्न आवश्यक रहेको तर्क गर्नुभयो ।