• ७ मंसिर २०८२, आइतबार

क्यान्सर तथा मिर्गौलारोगी साढे तीन सयभन्दा बढी

blog

  • लम्कीचुहा नगरपालिका–१०४
  • बर्दगोरिया गाउँपालिका–३२
  • घोडाघोडी नगरपालिका–९६
  • भजनी नगरपालिका–५३
  • गौरीगङ्गा नगरपालिका–८२

चाँदनी आचार्य 

घोडाघोडी (कैलाली), मङ्सिर ७ गते । कैलालीको पूर्वी क्षेत्रमा रहेका पाँच वटा पालिकामा चालु आर्थिक वर्षमा २७१ जना क्यान्सर तथा मिर्गौलारोगी पाइएको छ । 

लम्कीचुहा नगरपालिका, बर्दगोरिया गाउँपालिका, घोडाघोडी नगरपालिका, भजनी नागरपालिका र गौरीगङ्गाका नगरपालिकाका क्यान्सर तथा मिर्गौलापीडितले सरकारबाट पाउने सुविधा लिएर उपचार गराइरहेको तथ्याङ्कबाट यो तथ्य फेला परेको हो । ती क्यान्सर तथा मिर्गौलापीडित पालिकाबाट मासिक पाँच हजार रुपियाँका दरले सहयोग रकम लिएर उपचार गराइरहेका छन् । 

घोडाघोडीका नरेन्द्र साउदले आफ्नी क्यान्सरपीडित श्रीमतीलाई भरतपुरको क्यान्सर अस्पतालमा उपचार गराइरहेको बताउनुभयो । सरकारले दिने मासिक पाँच हजार रुपियाँले निकै राहत पुगेको बताउँदै उहाँले तीन/तीन महिनामा पालिकाले उपचार रकम खातामा पठाउने भए पनि यस पटक कात्तिकमा हाल्नुपर्ने रकम हालसम्म नपाउँदा समस्या भएको गुनासो गर्नुभयो । 

नरेन्द्र जस्तै पीडित परिवारलाई सरकारबाट दिने मासिक सहयोग रकमले राहतको काम गरेको छ । प्रत्येक पालिकामा विगतको तुलनामा क्यान्सरका रोगी बढ्दै गएको तथ्याङ्क छ । घोडाघोडी नगरपालिकाबाट चालु आवमा ९६ जना क्यान्सर तथा मिर्गौलापीडित सूचीकृत भएर मासिक रूपमा पाउने सहयोग लिइरहेका छन् । स्वास्थ्य शाखा प्रमुख कैलाशकुमार रावतले लेखाको भुक्तानी प्रक्रियामा केही परिवर्तन हुँदा कात्तिकमा दिनुपर्ने उपचार रकम समयमै हाल्न नसकेको बताउनुभयो । 

उहाँले अब केही दिनमा प्रत्येक बिरामीको खातामा तीन महिनाको उपचार रकम हालिनेसमेत जानकारी दिनुभयो । घोडाघोडीमा भन्दा धेरै बिरामी लम्कीचुहा नगरपालिकामा देखिएका छन् । लम्कीचुहा नगरपालिकामा चालु आवमा १०४ जना क्यान्सर तथा मिर्गौलापीडितले उपचार सहयोग लिइरहेका छन् । सो पालिकाका स्वास्थ्य शाखा प्रमुख तप्त भण्डारीले गत वर्ष १०१ बिरामी रहेकोमा चालु आवमा केही बढेको जनाउँदै उपचार सहयोग लिनेमा सबैभन्दा बढी क्यान्सरका बिरामी भएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “तीन महिनामा मर्ने १० देखि १५ जना हुन्छन् भने नयाँ बिरामी थपिने पनि सोही अनुपातमा हुन्छन् । यहाँ क्यान्सर भयावह रूपमा बढ्दै गएको छ । पालिकाले क्यान्सर स्क्रिनिङ क्याम्प सञ्चालनलगायत जनचेतनाका काम पनि गर्दै आएको छ ।”

चालु आवमा गौरीगङ्गा नगरपालिकामा ८२ जना क्यान्सरपीडितले उपचार गराइरहेका छन् । पालिकाका स्वास्थ्य शाखा प्रमुख ईश्वरीप्रसाद भुसालले तीन महिनामा १० लाख ४५ हजार रुपियाँ उपचार रकम क्यान्सर र मिर्गौलापीडितलाई भुक्तानी दिने गरेको बताउनुभयो । त्यसै गरी भजनी नगरपालिकामा ५३ जना र बर्दगोरिया गाउँपालिकामा ३२ जना क्यान्सरपीडितले चालु आवमा उपचार गराइरहेका छन् । बर्दगोरियामा गत वर्ष ४७ जना बिरामीले उपचार सेवा लिएका थिए ।

हरेक वर्ष क्यान्सर र मिर्गौलाका बिरामी बढ्दै जानुमा अत्यधिक विषादीको प्रयोग, खानपिन जीवनशैलीमा सुधार नगर्नु, लामो समय खाडी मुलुकमा काम गर्नु रहेको विज्ञ बताउँछन् । बर्दगोरिया अस्पतालका डा. किशोरकुमार अधिकारी हरेक व्यक्ति आफ्नो स्वास्थ्यप्रति सचेत हुनुपर्ने बताउनुहुन्छ । उहाँले वर्षमा एक पटक क्यान्सर तथा मिर्गौलाको चेकजाँच गराउन सुझाव दिनुभयो ।