बेलौरी समाचारदाता
कञ्चनपुर, मङ्सिर ७ गते । जिल्ला सरकारी वकिल कार्यालय महेन्द्रनगर, कञ्चनपुरले जेनजी आन्दोलनका क्रममा कार्यालयमा भएको आगजनी र तोडफोड गर्नेबारेमा छानबिनको मागसहित प्रहरीमा जाहेरी दिएको छ ।
गत भदौ २४ गते जेनजी समूहले जिल्ला सरकारी वकिल कार्यालयमा आगजनी गर्नुका साथै उपकरण तोडफोड गरेको थियो । कार्यालयको भुइँ तलामा भएको आगजनी र उपकरण तोडफोड गर्नेको छानबिन गरेर कारबाहीको मागसहित बिहीबार दिउँसो जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा जाहेरी दिएको जिल्ला सरकारी वकिल कार्यालय कञ्चनपुरका न्यायाधिवक्ता फटिकराज मुडभरीले बताउनुभयो ।
मुडभरीका अनुसार जिल्ला सरकारी वकिल कार्यालयमा रहेका कम्प्युटर, फर्निचर र सिसिटिभीलगायतका उपकरणमा भएको तोडफोड र आगजनीबाट १३ लाख ७० हजार रुपियाँ बराबरको क्षति भएको छ । यद्यपि आगलागीबाट महत्वपूर्र्ण फाइल, मिसिलमा भने क्षति नभएको उहाँले बताउनुभयो ।
आन्दोलनकारीले कार्यालयमा प्रवेश गर्दै सिसिटिभी तोडफोड गरेर भुइँ तलामा आगजनी गर्नुका साथै उपकरण तोडफोड गरेको न्यायाधिवक्ता मुडभरीले बताउनुभयो । “सुरुमै सिसिटिभी तोडफोड गरिएको छ,” उहाँले भन्नुभयो, “जसले गर्दा आन्दोलनकारीको पहिचान हुन सकेको छैन ।” आन्दोलनकारीको पहिचान हुन नसक्दा सडक तथा अन्य क्षेत्रमा जडान गरिएका सिसिटिभीका माध्यमबाट उनीहरूको पहिचान गर्न सकिने न्यायाधिवक्ता मुडभरीले बताउनुभयो । “तोडफोड गर्नेको छानबिन गरी आवश्यक कारबाही गरिनुपर्ने मागसहित प्रहरीमा जाहेरी दिएका छौँ,” उहाँले भन्नुभयो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले भने जिल्ला सरकारी वकिल कार्यालयमा आगजनी र तोडफोड गर्नेको छानबिन गरेर कारबाहीको मागसहित जाहेरी परेको जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहोराले जिल्ला सरकारी वकिल कार्यालयमा आगजनी गर्दै उपकरणलगायतका सामग्री तोडफोड गरिएकाले छानबिन गरेर कारबाही गरिने मागसहित जाहेरी परेको बताउनुभयो ।
“भदौ २४ गते साँझ कार्यालयमा कोही पनि नभएको अवस्थामा आगजनी र तोडफोड भएको देखिन्छ,” प्रनाउ बोहराले भन्नुभयो, “वरिपरिको सिसिटिभी फुटेजका आधारमा थप अनुसन्धान अगाडि बढाउँछौँ ।” कञ्चनपुरका अरू कार्यालय र व्यक्तिका घरमा भएको तोडफोड र आगजनीका विषयमा पनि उजुरीका आधारमा छानबिन भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।