• ७ मंसिर २०८२, आइतबार

दुई सय वर्ष पुरानो पौवा दरबार जीर्ण

blog

जीर्ण अवस्थामा पौवा दरबार । तस्बिर : यामराज विष्ट

पञ्चकोशी समाचारदाता 

पञ्चकोशी (दैलेख), मङ्सिर ७ गते । दैलेखको दुल्लु नगरपालिका–८, पादुकास्थित रहेको पौवा दरबार संरक्षणको अभावमा जीर्ण बन्दै गएको छ । झन्डै दुई सय वर्ष पुरानो (पौवा दरबार) दुल्लु सांस्कृतिक सङ्ग्रहालय लामो समयसम्म मर्मतसम्भार नभएपछि जीर्ण बन्दै गएको हो । 

सम्बन्धित निकायले चासो नदिँदा पौवा दरबार सङ्ग्रहालय जीर्ण बन्दै गएको स्थानीय दुल्लु नगरपालिका–८ का डिलबहादुर खड्काले बताउनुभयो । विशाल नेपालको शक्तिशाली राज्यमध्येको एक सिँजा राज्यको शीतकालीन राजधानीका रूपमा रहेको दुल्लुले आफूसंग भएको ज्वाला सभ्यता र सिँजा सभ्यताको केन्द्रविन्दुका रूपमा रहेको तत्कालीन राजा राजेन्द्र वीरविक्रम शाहको पालामा निर्माण भएको पौवा दरबार संरक्षणको अभावमा जीर्ण बन्दै गएको छ । 

उहाँले सरोकारवाला निकायले यसलाई संरक्षणमा चासो दिएर ऐतिहासिक महत्व र पर्यटकीय सम्भावना बोकेको पौवा दरबारलाई पर्यटन विकासमा ध्यान दिनुपर्ने सुझाव दिनुभयो । तिब्बती पठारको खसानदेखि जडानसम्मको कला, संस्कृति, साहित्य, लोकजीवन, लोकसंस्कारसँग सम्बन्धित मूर्त र अर्मूत सम्पदाको जगेर्ना गर्ने लोकसंस्कृतिलाई बचाइराख्न पौवा दरबारमा सङ्ग्रहालयको स्थापना गरिएको दुल्लु नगरपालिकाका नगरप्रमुख भरतप्रसाद रिजालले बताउनुभयो । उहाँले पौवा दरबार संरक्षणको अभावमा जीर्ण बन्दै गएकाले यसलाई संरक्षण गर्न स्थानीय सरकारले काम गर्ने जनाउनुभयो । 

उहाँले भन्नुभयो, “ऐतिहासिक, धार्मिक र पुरातात्त्विक महत्व बोकेको पौवा दरबारदेखि लिएर दरबारमा रहेका सामग्रीलाई संरक्षण गर्न नगरपालिकाले काम गरिरहेको छ ।” उहाँले दरबारको संरक्षणका लागि प्रदेश सरकाले बजेट छुट्याएको र त्यसमा केही समयपछि नगरपालिकाले काम गर्ने बताउनुभयो । झन्डै दुई सय वर्षअघि अर्थात् विसं १८७६ जेठ १० गते निर्माण भएको दरबारमा विभिन्न परम्परागत लोकजीवनसँग रहेका ढिकी, जातो, घट्ट, कोल, महिलाले लगाउने गरगहना, पुराना पैसालगायतका विभिन्न १६२ किसिमका सामग्री सङ्कलित छन् । तत्कालीन समयमा उत्तरदक्षिण कोरिडोरका रूपमा रहेको जुम्लादेखि दुल्लु हुँदै आवतजावत गर्ने बटुवालाई राति बास बस्न समस्या हुने भएपछि काजी जसपाउ थापाले पौवा दरबार निर्माणगरेको जानकार बताउँछन् ।