• ७ मंसिर २०८२, आइतबार

शिलान्यासको छ वर्षसम्म बनेन सडक

blog

नवराज कट्टेल

विराटनगर, मङ्सिर ७ गते  । चार करोड रुपियाँ पेस्की लिएर ठेकेदार फरार भएपछि विराटनगर महानगरपालिकाको चार वटा वडालाई जोड्ने सडक छ वर्षदेखि अलपत्र छ । विराटनगर महानगरपालिका अन्तर्गत कोशी राजमार्ग पश्चिमको विकल्पका रूपमा विराटनगर–५, ६, ११ र १२ नम्बर वडालाई जोड्ने सडक शिलान्यास भएको छ वर्ष र निर्माण सम्पन्न हुनुपर्ने म्याद सकिएको तीन वर्ष बितिसक्दा समेत बन्न सकेको छैन । 

प्रदेश सरकार अन्तर्गत पूर्वाधार विकास कार्यालय मोरङसँग जनकपुरस्थित देव एन्ड सायर आइएसएनबी जेभीले २०७७ असार ४ गते निर्माण सम्झौता गरेको थियो । विराटनगर महानगरपालिका ५, ६, ११ र १२ नम्बर वडालाई जोड्दै सीमा क्षेत्र रानीसम्म ९.३८ किलोमिटर सडकको शिलान्यास २०७७ साल मङ्सिरमा गरिएको थियो । नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइराला, तत्कालीन विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली र कोशी प्रदेश सभा सदस्य तथा पूर्वमुख्यमन्त्री केदार कार्कीले महìवका साथ गर्नुभएको थियो । 

पूर्वाधार विकास कार्यालय मोरङको २९ करोड ६३ लाख नौ हजार ५६६ रुपियाँ लागतमा सडक जनकपुरस्थित देव एन्ड सायर आइएसएनबी जेभीले निर्माण गर्ने गरी सम्झौता भएको थियो । सम्झौता अनुसार २०७९ असार ३ गते यसको काम सकिनुपर्ने म्याद थियो । 

निर्माण म्याद गुज्रेको अहिले तीन वर्ष बितिसकेको छ । निर्माण कम्पनी देव एन्ड सायर आइएनएनबी जेभीका सन्तोष यादवले चार करोड पेस्की लिएर सम्कर्पविहीन बनेपछि पूर्वाधार विकास कार्यालयले यसबेला खोजी थालेको छ । पूर्वाधार विकास कार्यालयका प्रमुख षडानन्द कुसवाहका अनुसार अहिले स्थानीयले यस विषयमा अख्तियारको समेत ध्यानाकर्षण गराएका छन् । त्यसपछि पेस्की बुझेर फरार भएका यादवको खोजी गर्दा फेला पार्न नसकिएको उहाँले बताउनुभयो । 

हामीले सम्बन्धित निर्माण व्यवसायीसँग सम्पर्क गर्न सकेनौँ । त्यसपछि अर्का पार्टनर निर्माण व्यवसायीसँग कुरा गरेर बोलाएका छौँ ।  कुसवाहले भन्नुभयोे– “उहाँले आउँछु भन्नुभएको छ । देव एन्ड सायरका यादव फरार भएपछि आइएसएनबीका वासु उप्रेतीलाई कार्यालयले सम्पर्कमा आउन भनेको हो ।” कार्यालय प्रमुख कुसवाहले जिल्ला प्रशासन कार्यालय मोरङले समेत जिल्ला प्रशासन कार्यालय धनुषामार्फत झिकाउन पत्राचार गरिसकेको जानकारी दिनुभयो । 

निर्माणमा संयुक्त भएका दुई कम्पनीमध्ये एउटा भागेमा अर्कोले काम गर्नुपर्ने हुन्छ । स्थानीयले यस विषयलाई चासो दिँदै अख्तियार र स्थानीय प्रशासनसहित ठेक्का लगाउने कार्यालय समेतको ध्यानाकर्षण गराएका छन् । 

विराटनगर महानगरपालिकाको पश्चिम क्षेत्र विकासमा ओझेल परेको भन्दै वडा नम्बर ५, ६, ११ र १२ को झङडाही (उराँव टोल) कारखाना टोल हुँदै ब्रम्हपुरासम्मको यो सडक निर्माण गर्ने योजना सारिएको थियो । सम्झौता २०७७ असारमा गरेर मङ्सिरमा शिलान्यास गरिएको सडक निर्माणका लागि छ करोड रुपियाँ विनियोजन गरिएको थियो । विनियोजनमध्ये चार करोड रुपियाँ पेस्की बुझेर ठेकेदारबेपत्ता भएका हुन् । 

विराटनगर–४ का उत्तम दाहालका अनुसार अहिले राज्यका निकायलाई गुहार मागेपछि निर्माणको सुरुवात गर्ने आश्वासन आएको छ । दाहालसहित त्यस क्षेत्रका स्थानीयले यो सडक निर्माणसम्बन्धी आवाज उठाउनुभएको थियो । केन्द्र भागमा सात मिटर चौडाइ स्पाल्ट कालोपत्रे गर्ने योजनामा उल्लेख छ । त्यसपछि सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहर सडकका रूपमा स्तरोन्नति गर्ने काम सुरु गरिएको थियो । अहिले नहरको धेरै क्षेत्र कालोपत्रे भइसकेको छ ।