• ७ मंसिर २०८२, आइतबार

तीन पालिकामा खटाइयो चिकित्सक

blog

खार्पुनाथ सामुदायिक अस्पतालमा बिरामी जाँच गर्दै डाक्टर । तस्बिर : राजन रावत

हुम्ला समाचारदाता

हुम्ला, मङ्सिर ७ गते । कर्णाली प्रदेश सरकारले हुम्लाका तीन गाउँपालिकामा स्वास्थ्य सेवा प्रदानका लागि चिकित्सकको व्यवस्था गरेको छ । ग्रामीणस्तरमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले कर्णाली प्रदेश सरकारको सामाजिक विकास कार्यालयले चिकित्सकको व्यवस्था गरेको हो ।

स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख चिकित्सक डा. उमाकान्त तिवारीले प्रदेश सरकारले व्यवस्था गरेका चिकित्सक खार्पुनाथ, सर्केगाड र अदानचुलीमा खटिएको बताउनुभयो । खार्पुनाथ गाउँपालिकाका लागि डा. डिजेल यादव, सर्केगाड गाउँपालिकाका लागि डा. ईश्वरी पौडेल र अदानचुली गाउँपालिकाका लागि डा. गणेश जैसीलाई खटाइएको छ । तीमध्ये डा. डिजेल यादव खार्पुनाथ गाउँपालिकामा हाजिर भई बिहीबारदेखि नै सेवा प्रदान सुरु गर्नुभएको छ । खार्पुनाथ गाउँपालिकामा सामुदायिक अस्पताल यसअघि नै स्थापना भएर एक वर्ष गाउँपालिकाले चिकित्सकको व्यवस्था गरेर सुचारु भएको थियो । पछि गाउँपालिकाले चिकित्सकको पारिश्रमिकको व्यवस्था गर्न कठिन भएपछि सो अस्पताल चिकित्सकविहीन भएको थियो । अदानचुली र सर्केगाड गाउँपालिकामा खटाइएका डाक्टर पौडेल र जैसीलाई हाल ती गाउँपालिकामा आवश्यक स्वास्थ्य संरचना तयार पार्ने कार्य भइरहेकाले जिल्ला अस्पताल हुम्लामा अस्थायी रूपमा कामकाजका लागि खटाइएको हुम्लाका स्वास्थ्य प्रमुख डा. तिवारीले बताउनुभयो । 

गाउँपालिकामा संरचना तयार हुनेबित्तिकै उहाँहरूलाई जतिसक्दो चाँडो सम्बन्धित गाउँपालिकामा जाने व्यवस्था मिलाइने उहाँले बताउनुभयो । चिकित्सक खटिएका गाउँपालिका केन्द्रमा रहेको स्वास्थ्य चौकीबाट ती चिकित्सकले सेवा प्रदान गर्ने भए पनि आवश्यकता परेका बेला अन्य स्वास्थ्य संस्थामा पनि पुगेर सेवा प्रदान गर्नुपर्ने छ । दुर्गम र भौगोलिक विकटतालाई ध्यानमा राखी हुम्लाका स्थानीय तहमा चिकित्सकको व्यवस्था नभइरहेको अवस्थामा प्रदेश सरकारले स्वास्थ्य सेवा सहज बनाउने उद्देश्यले यो कदम अघि बढाएको कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले बताउनुभयो । अब चाँडै चङ्खेली गाउँपालिकामा पनि चिकित्सक खटाउने तयारी भइरहेको जानकारी उहाँले दिनुभयो । प्रदेश सरकारको यस कदमले गाउँपालिका तहमा आधारभूत स्वास्थ्य सेवा सहज र प्रभावकारी हुने विश्वास मन्त्रालयले गरेको छ । चिकित्सकसहित सेवा ग्रामीणस्तरमा पु¥याउने कार्य भइरहेको बताउँदै मन्त्री भण्डारीले अब बाँकी कर्णाली प्रदेशका स्थानीय तहमा पनि पु¥याइने बताउनुभयो । सदरमुकाम रहेको सिमकोट गाउँपालिकामा जिल्ला अस्पताल रहेको छ ।