• ७ मंसिर २०८२, आइतबार

गलेश्वरधामको जग्गा अतिक्रमण

blog

गलेश्वर मन्दिर क्षेत्र ।

म्याग्दी समाचारदाता

म्याग्दी, मङ्सिर ७ गते । हिमाली जिल्ला म्याग्दीको सदरमुकामनजिकै बेनी नगरपालिकामा अवस्थित गलेश्वरमा नौ रोपनी क्षेत्रफलको एउटै चक्रशिलामाथि स्वयम् उत्पन्न ज्योतिर्लिङ्ग रहेको छ । गलेश्वर शिवालय क्षेत्र ऐतिहासिक धार्मिक तथा पर्यटकीय तबरले पनि सबैको मन लोभ्याउने गरेको छ ।

नौ रोपनीको एउटै चट्टान र त्यो चट्टानको टुप्पोमा रहेको कहिल्यै नसुक्ने जलकुण्डले सबैलाई लोभ्याउने गर्छ । मन्दिरका मूल पुजारी चन्द्रमणि आचार्यले भन्नुभयो, “कहीँकतैबाट पानी जाने ठाउँ छैन तर पनि पानी कहिल्यै  सुक्दैन, यो पनि निकै अनौठो दैवीय शक्ति हो ।” बेनी नगरपालिका–९, जम्रेनीका पण्डित टीकानन्द सुवेदीले जस्तोसुकै खडेरीमा पनि कुण्डमा पानी नसुक्ने भन्दै वर्षामा भरिएर पानी कुण्ड बाहिर अहिलेसम्म नगएको बताउनुभयो । 

बाइसेचौबिसे राज्यको पालामा पर्वत राज्यको समयमा पनि गलेश्वर अस्तित्वमा रहेको बताइन्छ । भर्तिबमको शिरच्छेदन गरेर कालीगण्डकीमा बगाउँदा उक्त शिर गलेश्वरतर्फ उल्टोतर्फ बगेको भन्ने तथ्यले गलेश्वर शिवालय पछिल्लो झन्डै चार सय वर्षभन्दा पहिलादेखि नै अस्तित्वमा रहेको मान्न सकिने पुजारी आचार्यले जानकारी दिनुभयो  ।

निरन्तर दीप प्रज्वलन

गलेश्वर शिवालयमा पछिल्लो ३८ वर्षदेखि अखण्ड रूपमा दीप प्रज्वलन भइरहेको छ । मन्दिरको मूल पूजा स्थलमा २०४४ सालदेखि हालसम्म कहिल्यै ननिभ्ने मूल दीप बलिरहेको छ । गलेश्वर मन्दिरका मूल पुजारी आचार्यका अनुसार जलजला गाउँपालिका–७, धाइरिङका यामप्रसाद आचार्य गलेश्वर मन्दिरमा मूल पुजारीका रूपमा २०४४ मा आउनु भएपछि गलेश्वर मन्दिरमा मूल दियो बालिएको थियो । त्यतिबेलादेखि हालसम्म उक्त दियो निभेको छैन । 

मन्दिरमा हरेक वर्ष करिब एक करोड रुपियाँ आम्दानी गर्ने गरेको छ । आर्थिक वर्ष २०८१/८२ मा झन्डै एक करोड रुपियाँ भक्तजनबाट सङ्कलन भएको शिवालय क्षेत्र विकास कोषले जनाएको छ । कोषका अनुसार अहिलेको बालाचतुर्दशी पर्वका अवसरमा छ लाख ३८ हजार ४३८ रुपियाँ भेटी सङ्कलन भएको जनाएको छ ।  

गलेश्वरको जग्गा गायब

गलेश्वरधाम मन्दिरको नाउमा रहेको १६४ रोपनीमध्ये झन्डै १०८ रोपनी गुठीको जग्गा गायब भएको छ । मन्दिरको जग्गा अतिक्रमणमा परेपछि यहाँका सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।  जिल्ला मालपोत कार्यालयको रेकर्डमा जमिन देखिए पनि गलेश्वर शिवालय क्षेत्र विकास कोषसँग त्यसको जग्गाधनी पुर्जा तथा अन्य कुनै रेकर्ड देखिएको छैन ।

गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीका अनुसार शिवालयको नाउँमा हाल करिब ५६ रोपनी जग्गाको लालपुर्जा रहेको छ । मालपोत कार्यालय म्याग्दीले दिएको जानकारी अनुसार गलेश्वर शिव गुठीका नाउँमा विभिन्न स्थानमा गरी १६४ रोपनीभन्दा धेरै जग्गा देखिएको छ । 

मालपोत कार्यालयले दिएको जानकारी अनुसार गलेश्वर शिव गुठीका नाउँमा १६४ रोपनी ९ आना दुई दाम जग्गा देखिन्छ । उक्त तथ्य अनुसार बेनी नगरपालिका–५, पुला चौरमा नौ रोपनी आठ आना तीन पैसा दुई दाम, अर्थुङ्गेमा छ रोपनी १० आना तीन पैसा तीन दाम र बेनी नगरपालिका–९, घतान क्षेत्रमा १४९ रोपनी नौ पैसा दुई दाम गुठीको जग्गा भएको देखिन्छ । गलेश्वर शिवालय क्षेत्र विकास कोषसँग पुलाचौर तथा अर्थुङ्गेको तथ्याङ्क देखिँदैन भने घतान क्षेत्रको पनि मात्रै ५६ रोपनी हाराहारी जमिनको मात्र जग्गाधनी पुर्जा छ ।

बेनी नगरपालिका आँगे बजारनजिकको क्षेत्रमा पनि गलेश्वरको शिव गुठीको जग्गा रहेकोमा तत्कालीन अवस्थामा स्थानीय चक्रबहादुर केसीले आफ्नो बनाएको उहाँको भनाइ छ ।