• ७ मंसिर २०८२, आइतबार

सिडिओ कार्यालय अगाडिको अव्यवस्थित पार्किङ हटाइयो

blog

मलंगवास्थित तिनबिघे चौरमा सारिएको मोटरसाइकल पार्किङ । तस्बिर : जनार्जन खत्री

जनार्जन खत्री
सर्लाही, मङ्सिर ७ गते ।
सदरमुकाम मलङ्गवास्थित जिल्ला प्रशासन कार्यालय सर्लाही अगाडिको सडकमा रहेको अव्यवस्थित पार्किङ हटाइएको छ । मलङ्गवा नगरपालिका १० नं. वडा कार्यालयले सिडिओ कार्यालय अगाडिको सडकमा अवस्थित मोटरसाइकल पार्किङ हटाएको हो । सडकमा यत्रतत्र मोटरसाइकल राख्दा जिल्ला प्रशासन कार्यालयसम्म पुग्न सेवाग्राही, कर्मचारी तथा अन्यलाई असाध्य असहज हुँदै आएको थियो ।

चार पाङ्ग्रे सवारी साधन आउजाउ गर्न पनि मुस्किल रहेको थियो । नवआगन्तुक प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले अव्यवस्थित पार्किङ हटाउन पहल गर्नुभएको थियो ।

सडकबाट हटाइएको पार्किङ छेउमै जिल्ला समन्वय समितिको तिनबिघे चौरमा सारिएको हो । मलङ्गवा नगरपालिका १० नं. वडा कार्यालयले अहिले प्रतिमोटरसाइकल २० रुपियाँ शुल्क लिएर पार्किङको व्यवस्था मिलाएको छ ।

वडा कार्यालयले पार्किङको पैसा उठाएको भन्दै विरोधसमेत भइरहेको छ । वडा कार्यालयले दुई जना कर्मचारीलाई खटाउनु परेकाले न्यूनतम पार्किङ शुल्क उठाइएको जनाएको छ । 

मलङ्गवा नगरपालिका–१०, का वडाध्यक्ष मुकेशकुमार झाले मानिसको असाध्य भिडभाड हुने सिडिओ कार्यालय अगाडिको अव्यस्थित पार्किङलाई क्रमिक रुपमा व्यवस्थित बनाउँदै लाने योजना रहेको बताउनुभयो । उहाँका अनुसार पार्किङलाई व्यवस्थित बनाउन कसैलाई टेण्डरमार्फत जिम्मेवारी दिएर जिविसको तीनबिघे मैदानमा दुर्गा मन्दिर, हेलिप्याड, क्रिकेट खेल मैदानलगायतको संरचना बनाउने योजनासमेत रहेको छ ।

जिल्ला प्रशासन कार्यालय अगाडि साँघुरो सडक र त्यसैमाथि जथाभावी पार्किङ गरिँदा आउजाउमै समस्या भइरहेको भन्दै बारम्बार गुनासो उठ्दै आएको थियो । प्रमुख जिल्ला अधिकारी कडरियाले सकडबाट पार्किङ हटाएपछि अहिले अवस्था फेरिएको र कार्यालयमा आउने सेवाग्राही, बटुवा र सवारी चालकलाई सहज हुन थालिसकेको बताउनुभयो ।