ठाकुरप्रसाद आचार्य
म्याग्दी (बेनी), मङ्सिर ७ गते । धवलागिरि गाउँपालिका अन्तर्गत गुर्जाका ६७ वर्षीय गोरे छन्त्यालका पाँच दशकभन्दा बढी उमेर भेडीगोठमा बित्यो । १० वर्षकै उमेरदेखि नै भेडाबाख्रासँग हिँड्न थाल्नुभएको उहाँ अहिले पनि फुर्तिलो र सक्रिय हुनुहुन्छ ।
भेडाबाख्रा लिएर छन्त्याल अहिले पनि हिमालको फेदीसम्म पुग्नुहुन्छ । अचेल उहाँको गोठघरनजिक आएको छ । घरदेखि तल ठुलो भेडीगोठ छ । बिहान झिसमिसे उज्यालोसँगै उहाँ भेडाबाख्रा र पाठाको स्यारसुसारका लागि गोठमा पुग्नुहुन्छ ।
भेडापालनमा जीवन बिताउनुभएका छन्त्याल गाउँका लागि अनुभव र सिपको खुला किताब जस्तै व्यक्ति हुनुहुन्छ । छन्त्यालले गुर्जागाउँमा परिश्रमी र लगनशील किसानको पहिचान बनाउनुभएको छ । उमेरले डाँडा काट्न लाग्दा पनि गोठमा उस्तै जोसका साथ सक्रिय छन्त्याललाई देखेर गाउँले पनि दङ्ग पर्दछन् । गुर्जा गाउँमा सबैभन्दा धेरै भेडाबाख्रा व्यक्तिमा पर्नुहुन्छ ।
उहाँले भन्नुभयो, “भेडापालनमा मैले कपाल फुलाए, हिउँद–बर्खा नभनी हिमालको फेदीसम्म पुग्नु पर्दछ । अझै दुई/चार वर्षसम्म त भेडीगोठ लगेर हिमालको फेदीमा पुग्न सक्छु भन्ने हिम्मत छ ।” उहाँले भन्नुभयो, “जानेको यही पशुचौपायाको गोठाला गर्न हो । दुःख भए पनि गोठालोमै रमाइलो हुन्छ । गोठ नै मेरो सुखी जीवन हो ।” छन्त्यालको गोठमा सानाठूला गरेर दुई सयभन्दा बढी भेडाबाख्रा छन् ।
अहिले चिसो मौसम भएकाले उहाँ भेडाबाख्रासहित गुर्जागाउँमा आइपुग्नुभएको छ । असारदेखि भदौसम्म हिमालको फेदीस्थित बुकीमा गोठ पुग्ने गरेको बताउने उहाँले भेडाबाख्रा बिक्रीबाट आफ्नो जीवन गुजरा राम्ररी चलाइरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “गाउँमा पनि बिक्री हुन्छ नै, त्यसका अतिरिक्त पोखरा, काठमाडौँसम्म पनि भेडा, च्याङ्ग्रा बिक्री हुने गरेका छन् । हरेक वर्ष १० देखि १२ लाख रुपियाँका भेडाबाख्रा बिक्री गर्ने गरेको छु ।”
भेडापालनबाट राम्रो आम्दानी हुने देखेर आफ्नो जेठो छोरा कतारबाट फर्किएर भेडा पाल्न थालेको उहाँले बताउनुभयो । भेडापालनमा धेरै परिश्रम र दुःख भएकाले भविष्यमा छोराले निरन्तरता नदिने हुन् कि भन्ने चिन्ता छन्त्यालको छ । बाउबाजेको पेसालाई अँगाल्दै आउनुभएका छन्त्याल अचेल परम्परागत पेसा हराउन थालेकोप्रति चिन्तित हुनुहुन्छ । आधा शताब्दीसम्म भेडा पाल्दासमेत कहीँकतैबाट आफूलाई अनुदान नदिएको उहाँले दुःखेसो पोख्नुभयो । छन्त्यालले भन्नुभयो, “मलाई सरकारी अनुदान भन्ने थाहा नै छैन । कहिलेकाहीँ सरकारी कर्मचारी जस्ता देखिने मानिस गोठमा आएर भेडाबाख्रालाई हेर्ने गरेका छन् । त्योबाहेक मैले अहिलेसम्म केही सहयोग पाएको छैन ।”
पशुपालनका लागि गुर्जागाउँ उर्वर मानिने भए पनि पछिल्लो पुस्ताले पशुपालनप्रति चासो नदिँदा यो पेसा नै सङ्कटमा पर्न थालेको धवलागिरि गाउँपालिका–१, गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले बताउनुभयो । भेडाबाख्राको माग धेरै आउने भए पनि उत्पादन कम हुने गरेको उहाँको भनाइ छ । गाउँमा अहिले करिब १५ घरपरिवारले मात्रै भेडापालन गरेको उहाँको भनाइ छ । भेडापालन पेसामा धेरै दुःख र परिश्रम गर्नुपर्ने भएकाले नयाँ पुस्ता यो पेसाप्रति आकर्षित नभएको उहाँले बताउनुभयो ।
भेडापालन किसानलाई लक्षित गरेर गाउँपालिकाले भेडाबाख्रामा लाग्ने रोग नियन्त्रणका लागि पूर्ण खोप अभियान, औषधी उपचार, गोठाला बस्नका लागि त्रिपाल, मोबाइल चार्जका लागि सोलार र गोठ सुधारका कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाका पशुसेवा शाखा प्रमुख चन्द्रकला दाहालले बताउनुभयो ।