लमजुङ समाचारदाता
लमजुङ, मङ्सिर ७ गते । लमजुङका यातायात व्यवसायीले तोकिएको भाडादर कायम गर्न प्रतिबद्धता जनाएका छन् । उनीहरू जिल्ला प्रशासन कार्यालय पुगेर तोकिएको भाडादर मात्र लिन प्रतिबद्धता जनाएका हुन् ।
सर्वसाधारणबाट मनपरी भाडा लिएको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालयले यातायात व्यवसायीलाई ७२ घन्टे स्पष्टीकरण सोधेको थियो । यातायात व्यवसायीका प्रतिनिधि प्रशासनमा आफैँ उपस्थित भएर तोकिएको भाडादर कायम गर्ने प्रतिबद्धता जनाएका हुन् । जिल्ला प्रशासन कार्यालयले यातायात व्यवसायीका प्रतिनिधिसहित नयाँ भाडादर कायम गरे पनि सर्वसाधारणले मनपरी भाडा लिएको गुनासो गरेपछि कारणसहित ७२ घण्टाभित्र जवाफ दिन प्रशासनले यातायात व्यवसायीलाई पत्राचार गरेको थियो ।
७२ घन्टे अल्टिमेटम सकिनै लाग्दा यातायात व्यवसायीका प्रतिनिधिले भाडादर कायम गराउन प्रतिबद्धता रहेको भन्दै प्रशासनमा पुगेका थिए । उनीहरूले आफ्नामातहतका निकायलाई कडाइका साथ निर्देशन दिने, ट्राफिक प्रहरीसहितको सहयोगमा अनुगमन गर्ने, बढी भाडा लिनेलाई कारबाही गराउनेलगायतका प्रतिबद्धता जनाएको सहायक प्रमुख जिल्ला अधिकारी थमनसिंह गौतमले जानकारी दिनुभयो ।