• ७ मंसिर २०८२, आइतबार

राम–सीता विवाह उत्सवको तयारी गर्दै रामपुर

blog

रामपुर ३ मा अवस्थित ऐतिहासिक धार्मिक स्थल सीताकुण्ड । तस्बिर : इमान सिं राना

इमान सिं राना
रामपुर (पाल्पा), मङ्सिर ७ गते ।
धार्मिक तथा सांस्कृतिक महत्त्वलाई उजागर गर्न रामपुर नगरपालिकाले विवाह पञ्चमीको अवसरमा राम–सीता विवाह उत्सवको तयारी गरेको छ । आगामी मङसिर ९ गते वडा नं.–३, स्थित पवित्र धार्मिक स्थल सीताकुण्डमा उत्सव मनाउने तयारी गरेको हो  ।

वडा नं. ५ बाट बेहुला पक्ष भएर सीताकुण्ड जन्त जाने र वडा नं. ३ र ४ ले माइती पक्षको रुपमा स्वागत गर्ने कार्यक्रम छ । धार्मिक ग्रन्थहरुमा उल्लेख भए अनुसार त्रेतायुगमा भगवान राम चन्द्र वनबासको क्रममा स्नान गरेको भूमि वडा नं. ५ स्थिति कालीगण्डकी किनारको रामघाटबाट जन्त लैजाने, सीता रजस्वाला भएको समयमा भगवान रामले ठाउँमा वाण प्रहार गरी पानी निकालेर नुहाउने व्यवस्था मिलाएको भन्ने जनविश्वास रहेको वडा नं. ३ को सीताकुण्डमा विवाह उत्सव मनाउने तयारी गरिएको हो ।

रामपुर नगर प्रमुख रमणबहादुर थापाले भगवान राम र सीतासँग सम्बन्धित ऐतिहासिक धार्मिक धार्मिक स्थलहरुको महत्त्व उजार गर्न यस वर्ष सीताकुण्डमा विवाह उत्सव भव्यताका मनाउन लागिएको बताउनुभयोे । रामपुर नगर भित्र रामघाट, सीताकुण्ड, राम चुल्हो, राम्चे, राम कुवा लगायतका ऐतिहासिक धार्मिक स्थलहरु रहेको छन् । विवाह उत्सवको बारेमा जानकारी दिनुहुँदै थापाले नगर भित्रका महत्त्वपूर्ण धार्मिक स्थलको संरक्षणसँगै महिमाको प्रचार प्रसार गरी धार्मिक पर्यटनसँग जोड्ने मुख्य ध्येय रहेको बताउनुभयो ।

धार्मिक व्यक्तित्व सन्दिप रानाले स्कन्दपुराण, आनन्द रामायण र कालीदासको मेघदुतमा समेत सीताकुण्डको बारेमा उल्लेख भएको बताउनुभयो । सीताकुण्डको महिमा छुट्टै रहेको बताउँदै भाकल गरेमा मनोकामना पुराहुन्छ भन्ने स्थानीयमा विश्वास रहेको बताउनुभयो । माइती पक्षको तर्फ बाट जन्तको स्वागत, मन्दिरको सरसफाई, खाना तथा प्रसादी व्यवस्थापनका लागि वडा नं. ३ र ४ का स्थानीय, टोल विकास समितिहरु जुटिरहेको बताउनुभयो । रानाका अनुसार १२ स्थानमा स्वागत द्वारा निर्माण गरिने उहाँले जानकारी दिनुभयो । कुण्डमा विश्वमै फरक विशेषता रहेको जङ्गली धान समेत पाइन्छ ।

बेहुला पक्षका सचिवालय समिति संयोजक एवम् रामपुर ५ का वडा अध्यक्ष दुर्गा प्रसाद पोखरेलले पञ्चेबाजा र रामपुर नगर भित्रका १३ भन्दा बढी जातजातिको सांस्कृतिक झाँकी सहित सीताकुण्ड जन्त लैजानका लागि तयारीको कार्य भइरहेको बताउनुभयो । रामघाट बाट जन्त निकाल्ने र राम मन्दिरबाट कसार, दहीसहित सगुन खुवाएर जन्त पठाउने तयारी भइरहेको उहाँले बताउनुभयो ।

मुख्य पण्डित हरि प्रसाद खनालका अनुसार विवाह पञ्चमीका दिन विहान रामघाटमा यज्ञ पश्चात ९ बजे चौरासी पुजा गरिसक्नु भएका ज्येष्ठ नागरिकहरु बाट आशिर्वाद लिएर, कोइलाटारी हुँदै बेझाँड स्थित राचुल्हो रहेको स्थान राममन्दिरबाट सगुन ग्रहण पश्चात पैदल हिँडेर हुँदै सीताकुण्ड जाने कार्यक्रम छ । महन्त, बटुकसहितको जन्त टोलीलाई सीताकुण्डमा माईती पक्षले स्वागत गर्नेछ । कुण्डमा राम सीताको प्रतिकात्मक विवाह संस्कार पूरा गरेपछि बालनको माध्यमबाट लोकनाटक मार्फत रामसीताको विवाह उत्सवको प्रदर्शन गरिने उहाँले जानकारी दिनुभयो । सीताकुण्डका विभिन्न जातजातिको झाँकी समेत प्रदर्शन पश्चात ३ बजे जन्त फिर्ता भइ रामघाट मै आएर विवाह उत्सवको विधि पूर्वक समापन गरिने खनालले बताउनुभयो ।

विवाह उत्सव भव्यताका साथ सम्पन्न गर्नका लागि रामपुर नगरपालिकाले मङ्सिर ९ गते नगरपालिका मातहतका कार्यालय, सार्वजनिक विद्यालय तथा संघ संस्थामा सार्वजनिक बिदा समेत दिएको छ ।