• ६ मंसिर २०८२, शनिबार

सेनाका खड्का र न्यौपानेलाई नेपालगन्ज म्याराथन उपाधि

blog

धारा नेपालगन्ज म्याराथन र हाफ म्याराथनको बिजेता खड्का र न्यौपाने । तस्बिर : गोरखापत्र

सिराज खान 

नेपालगन्ज, मङ्सिर ६ गते । ११औँ धारा नेपालगन्ज म्याराथनको उपाधि नेपाली सेनाका खडकबहादुर खड्काले जित्नुभएको छ । हाफ म्याराथनको उपाधी पनि नेपाली सेनाकै पूर्णलक्ष्मी न्यौपानेले जित्नुभएको छ । 

शनिबार बिहान नेपालगन्जमा सम्पन्न म्याराथनको उपाधि जित्नुभएका सेनाका खड्काले २ लाख रुपियाँ पुरस्कार प्राप्त गर्नुभयो । हाफ म्याराथन बिजेता सेनाकै न्यौपानेले ७५ हजार रुपियाँ पुरस्कार पाउनुभयो ।

खड्काले २ घण्टा १५ मिनेट ८ सेकेण्डमा ४२ किलोमिटरको दुरी पार गर्नुभएको थियो । उहाँ गत १० औ धारा नेपालगन्ज म्याराथनका पनि विजेता हुनुहुन्छ यसैगरी म्याराथनमा  २ घण्टा १६ मिनेट ४८ सेकेण्डमा ४२ किलोमिटरको दुरी पार गर्दै नेपाल आर्मीकै सुशीलकुमार शाही दोस्रो तथा २ घण्टा १९ मिनेट १८ सेकेण्डमा उक्त दुरी पार गर्दै सशस्त्र प्रहरीका गोपीचन्द्र पार्की तेस्रो हुनुभएको छ ।

दोस्रो हुनुभएका शाही र तेस्रो भएका पार्कीले क्रमश: १ लाख र ५० हजार रुपियाँ पुरस्कार जित्नुभयो । सोही प्रकारले हाफ म्याराथन महिलातर्फको उपाधि जित्नु भएकी सेनाकी न्यौपाने सो प्रतियोगिताको पाँचौं संस्करणकी विजेता पनि हुनुहुन्छ । हाफ म्याराथनमा सशस्त्र प्रहरीकी फुलमती राना दोस्रो हुँदा तेस्रो आश्मा विश्वकर्मा हुनुभएको छ । 

म्याराथन शुभारम्भ र समापन कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंक घिसिङलगायतको उपस्थिति रहेको थियो । 

म्याराथन र हाफ म्याराथन तथा अन्य विभिन्न विधाका विजेता खेलाडीलाई ट्रफी र नगद पुरस्कार प्रदान गरिएको थियो । शीर्ष दश स्थानसम्म र दौड पूरा गर्ने सबैलाई पाँच हजार नगद पुरस्कार दिइएको रेस डाइरेक्टर चन्द्रबहादुर गुरुङले जानकारी दिनुभयो ।