कल्याणपुर समाचारदाता
कल्याणपुर (सप्तरी), कात्तिक २९ गते । सप्तरीको विष्णुपुर गाउँपालिका–१ स्थित जनता माध्यमिक विद्यालय, खुरहुरियाका निमित्त प्रधानाध्यापक अशोककुमार यादव लामो समयदेखि अनुपस्थित भएपछि विद्यालयको पठनपाठन तथा प्रशासनिक काम प्रभावित भएको छ ।
उहाँ चार महिनादेखि विद्यालयमा अनुपस्थित भएपछि विद्यालयको पठनपाठनदेखि अन्य दैनिक कामकाज र व्यवस्थापनमा समेत असर परेको हो । विद्यालयको शिक्षक तथा लेखा अनुगमन समितिले विद्यालयमा पत्रकार सम्मेलन आयोजना गर्दै प्रधानाध्यापक यादवले विभिन्न शीर्षकको बजेट अनियमित तरिकाबाट खर्च गरेको पाइएको आरोप लगाएको हो । खर्चको बिल भरपाई माग गर्दा उहाँ असार २० देखि नै विद्यालयमा अनुपस्थित रहनुभएको लेखा अनुगमन समितिका सदस्य कैलाश यादवले जानकारी दिनुभयो ।
सामाजिक लेखा परीक्षणका लागि वडा नम्बर १ का अध्यक्ष बलराम यादवको संयोजकत्वमा गठित लेखा अनुगमन समितिले अनुगमन गर्दा आर्थिक वर्ष २०७९÷८० मा तीन लाख ७९ हजार ८९० तथा आव २०८१÷८२ मा पाँच लाख १३ हजार र अन्य बेरीतको खर्च गरी कुल १९ लाख २९ हजार ९३८ रुपियाँ अनियमित ढङ्गले खर्च गरेको पाइएको सदस्य यादवको भनाइ छ । लेखा अनुगमन समितिले कारबाही प्रव्रिmया अगाडि बढाएपछि नै निमित्त प्रधानाध्यापक अशोककुमार यादव विद्यालयमा अनुपस्थित रहनुभएको सहायक प्रधानाध्यापक महेशकुमार यादवले जानकारी दिनुभयो ।
विद्यालयमा महिनौँसम्म प्रधानाध्यापक यादव हाजिर नभएको तथा त्यसको असर पठनपाठन तथा विद्यालय प्रशासनलाई पर्न गएकोबारे माथिल्लो निकायमा जानकारी गराउँदासमेत कुनै चासो नदेखाइएको विद्यालयका अधिकांश शिक्षक र अभिभावकले पत्रकार सम्मेलनमा गुनासो गरेका थिए । जिल्ला प्रशासन कार्यालय सप्तरीले २०८२ असोज २४ गते विष्णुपुर गाउँपालिकालाई पत्राचार गरी प्रधानाध्यापक व्यवस्थापन गर्न भने पनि हालसम्म गाउँपालिकाले कुनै जानकारी नगराएको पत्रकार सम्मेलनमा शिक्षकहरूले बताए ।
विद्यालयको शैक्षिक अवस्था सुधारसहित विभिन्न माग राखेर गठित विद्यालय सङ्घर्ष समितिका संयोजक प्रेमनारायण यादवले गाउँपालिका र वडा कार्यालयको गैरजिम्मेवारीपनले विद्यलयमा समस्या आएको बताउनुभयो ।
गाउँपालिका अध्यक्ष उपेशप्रसाद यादवले आरोपको खण्डन गर्दै केही शिक्षक र अभिभावककै कारण यस्तो अवस्था आएको बताउनुभयो । उहाँले काम गर्ने वातावरण नभएकै कारण निमित्त प्रअलाई गाउँपालिकामा काजमा खटाइएको जानकारी दिनुभयो । विद्यालयमा देखिएको विवाद समाधान गर्न आफूहरू गम्भीर भएको भन्दै त्यसका लागि आवश्यक पहल थालिएको उहाँले बताउनुभयो ।
शिक्षा संयोजक रामेन्द्र यादवले निमित्त प्रअलाई त्यहाँका स्थानीय गुटबाजीले धाकधम्की दिँदै आएका कारण काम गर्न असहज भएपछि उहाँ गाउँपालिकमा हाजिर भएर बस्नुभएको बताउनुभयो । विद्यालयको समस्या समाधानका लागि पहल गरिरहेको उहाँको भनाइ छ ।
विद्यालयका निमित्त प्रधानाध्यापक यादवले भने आफू सम्पर्कविहीन नभएको बताउनुभएको छ । उहाँले विद्यालय जाँदा दिनहुँ धाकधम्की आएपछि हाजिर हुने अवस्था नरहेकाले हाल गाउँपालिकामा आएर हाजिर भएको बताउनुभयो ।