• २९ कात्तिक २०८२, शनिबार

अभियुक्तलाई उन्मुक्ति दिएको आरोप

blog

धनगढी समाचारदाता

धनगढी, कात्तिक २९ गते । कैलालीको गोदावरी नगरपालिका–१०, खमौराका शेरबहादुर चौधरीको हत्याका मुख्य दोषीलाई जिल्ला अदालतले उन्मुक्ति दिएको भन्दै मृतकका परिवारले न्यायका लागि मानव अधिकारवादी सङ्घ संस्थालाई गुहारेका छन् । 

घटनाको मुख्य दोषी डडेलधुराको गन्यापधुरा–२, चम्सालका विकास मल्ललाई अदालतले उन्मुक्ति दिएको भन्दै पीडित परिवारले राष्ट्रिय मानव अधिकार आयोग र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लाई गुहारेका हुन् । न्यायका लागि पीडित पक्षले शुक्रबार आयोग र इन्सेकमा निवेदन दिएका छन् ।  मृतककी आमा पुतलीदेवी डङ्गौरा, भाइ रमेश र भाइबुहारी सलिना चौधरीले न्यायको खोजी गर्दै निवेदन दिएका हुन् । गत असोज २३ गते राति २ बजे गोदावरी नगरपालिका–१० का लक्की मल्ल र डडेलधुराका विकासले घरको ढोका तोडफोड गरेर शेरबहादुरलाई घरबाट तानेर गोदावरीखोलामा लगी हत्या गरेको पीडितको आरोप छ । 

घटनापश्चात् पीडित परिवारले घटनाको अनुसन्धान र दोषीलाई कानुन अनुसार सजायको माग गर्दै जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए । प्रहरीले आरोपित दुवैलाई पक्राउ गरे पनि कात्तिक १८ गते विकासलाई अदालतले उन्मुक्ति दिएको परिवारको आरोप छ । हत्या जस्तो जघन्य अपराधमा उन्मुक्ति दिएकाले आफूहरू अन्यायमा परेको मृतककी बुहारी सलिनाले बताउनुभयो । अदालतले उन्मुक्ति दिएपछि विकास विदेश उडिसकेको पीडित परिवारले जनाएका छन् । 

उनीहरूले सरोकारवाला निकायको उपस्थितिबिना प्रहरीले घटनाको मुचुल्का उठाएको, मुचुल्का उठाउने प्रक्रियामा लापर्बाही गरेको, पोस्टमार्टम रिपोर्टमासमेत गम्भीर लापर्बाही गरेको पीडित पक्षको आरोप छ । उनीहरूले घटनाको सत्य, तथ्य र निष्पक्ष अनुसन्धान प्रक्रियामा पीडित पक्षको बयान नसमेटेको, पहुँचका आधारमा मुद्दालाई कमजोर बनाएर मुख्य दोषीलाई उन्मुक्ति दिएको जिकिर गरेका छन् । न्यायको माग गर्दै पीडित परिवारले जिल्ला प्रशासन कार्यालयमा पनि निवेदन दिइसकेका छन् । अदालतले विकासलाई छोडेपछि उनीहरू सङ्घर्ष समिति बनाएर आन्दोलन गर्दै आएका छन् ।

पीडित पक्षको निवेदन बुझ्दै आयोगको धनगढी कार्यालयका निमित्त प्रमुख झङ्कर रावलले घटना अदालतमा पुगिसकेकाले न्यायिक प्रक्रियाबाट नै अन्तिम टुङ्गो लाग्नुपर्ने बताउनुभयो ।