गोरखापत्र अनलाइन
काठमाडौँ, कात्तिक २८ गते । निर्वाचन आयोग नेपाल, कान्तिपथ काठमाडौंले पछिल्लो दैनिक तथा समग्र नयाँ मतदाता दर्ता विवरण सार्वजनिक गरेको छ।
कात्तिक २८ गतेसम्म दुई लाख ८१ हजार १२९ जना नयाँ मतदाता थपिएका छन् ।
आयोगका सहसचिव एवम् प्रवक्ता नारायण प्रसाद भट्टराईले पुरुष एक लाख ६० हजार ७५८, महिला एकलाख २० हजार ३३१ र अन्य ४० जना थपिएकाे जानकारी दिनुभयो ।
यसैगरी, राष्ट्रिय परिचयपत्र प्रणालीमार्फत कात्तिक २७ र कात्तिक २८ गते राति ९ बजेसम्म दर्ता भएका विवरणमा ८० हजार ४५६ जना थपिएका छन् । जसमा पुरुष ५० हजार २१७, महिला ३० हजार २३५ र अन्य चार जना छन् ।
आयोगले आगामी निर्वाचनलाई लक्षित गर्दै देशभर दर्ता प्रक्रियालाई थप सहज र प्रभावकारी बनाउन आवश्यक प्राविधिक तथा प्रशासनिक तयारी निरन्तर भइरहेको जनाएको छ।
कात्तिक ३० गतेसम्म नयाँ मतदाता संकलनकाे अवधि तोकिएको छ । शुक्रबार प्रधानमन्त्री सुशीला कार्कीले कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई टेलिफोन गरी पाँच दिन थप गर्न आग्रह गर्नुभएको छ ।