• २८ कात्तिक २०८२, शुक्रबार

नीति तथा कार्यक्रम र बजेटको कार्ययोजना कार्यान्वयनको समीक्षा

blog

नीति तथा कार्यक्रम र बजेटको कार्ययोजना कार्यान्वयनको समीक्षा कार्यक्रम । तस्बिर : केशव थापा, प्रधानमन्त्रीको सचिवालय

काठमाडौँ, कात्तिक २८ गते । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम र बजेटको कार्ययोजना कार्यान्वयनको समीक्षा भएको छ ।

प्रधानमन्त्री सुशीला कार्की, अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुन, युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता, मुख्यसचिव एकनारायण अर्याल, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली, विभिन्न मन्त्रालयका सचिवलगायतका अधिकारीहरुको उपस्थितिमा समीक्षा बैठक बसेको थियो ।

प्रधानमन्त्री कार्यालयका सचिव राजकुमार श्रेष्ठले समीक्षासम्बन्धी प्रस्तुतीकरण दिनुभएको थियो। उहाँको प्रस्तुतिपछि सहभागी मन्त्री, सचिव तथा अन्य अधिकारीहरुले आआफ्नो टिप्पणी र सुझाव दिनुभएको थियो ।

बैठकको अन्त्यमा प्रसधानमन्त्री सुशीला कार्कीले हालसम्मको कार्यप्रगति सन्तोषजनक नभएकाले अझै गति बढाएर काम गर्न निर्देशन दिनुभएको छ। उहाँले पछिल्लो राजनीतिक परिवर्तन र नयाँ पुस्ताको भावनाअनुसार कार्यशैली पनि परिवर्तन गर्नुपर्ने बताउनुभयो ।

‘‘आमजनताको असन्तुष्टि व्यक्त हुनुको प्रमुख कारण देशमा व्याप्त विभिन्‍न प्रकारको भ्रष्टाचार र देशको विकासमा देखिएको गतिहीनता र सुस्तता नै हो,’’ प्रधानमन्त्री कार्कीले भन्नुभयो, ‘‘सरकारी संयन्त्रमा रहेको अनियमितता र भ्रष्टाचार नियन्त्रणका लागि माननीय मन्त्रीज्यूहरू र सचिवज्यूहरू लगायत प्रशासनिक नेतृत्वको अहम् भूमिका हुन्छ। आफू स्वच्छ रहन र आफ्नो निकायमा स्वच्छता प्रवर्धन गर्न जिम्मेवार भएर लाग्न म यहाँहरूलाई निर्देश गर्न चाहन्छु।’’