• २८ कात्तिक २०८२, शुक्रबार

विकट क्षेत्रमा धमाधम दूरसञ्चारको पहुँच विस्तार

blog

काठमाडौँ, कात्तिक २८ गते । नेपाल टेलिकमले ग्रामीण क्षेत्रहरुमा धमाधम दूरसञ्चारको पहुँच विस्तार गरिरहेको छ । सुदूरपश्चिम, कर्णाली र मधेश प्रदेशका विकट क्षेत्रहरुमा टेलिकमको टेनवर्क विस्तार तथा फोरजी सेवाको पहुँच अभिवृद्धि भएको हो । 

दुर्गम क्षेत्रमा दूरसञ्चारको पहुँच विस्तरमा अघि बढेको टेलिकमले एकपछि अर्को विकट क्षेत्रमा दूरसञ्चार पहुँच विस्तार गर्दै लगिरहेको छ ।

हालै बाजुराको बुढीनन्द गाउँपालिकामा उच्च गतिको फोरजी इन्टरनेट सेवा  सुरु भएको छ । नेपाल टेलिकमले गाउँपालिकाको वडा नम्बर ७ मा नयाँ ४–जी एलटीई टावर जडान गरी सेवा सञ्चालनमा ल्याएको हो । स्थानीय नरेन्द्र महतकाअनुसार टेलिकमको टावरबाट बुढीनन्दका वडा नम्बर ७, ८, ९ र १० का बासिन्दा प्रत्यक्ष लाभान्वित हुनेछन् ।

 यता डोल्पाको ठूलीभेरी नगरपालिका र शे–फोक्सुन्डो गाउँपालिकाका विभिन्न बस्तीहरू सञ्चारको पहुँचमा जोडिएका छन् । दूरसञ्चार कार्यालय डोल्पाका प्राविधिक नवराज भट्टराईले वडा नं १० को मिदग्ती लेकमा निर्माण गरिएको नेपाल टेलिकमको इन्टरनेटसहितको फोरजी टावर बिहिबारदेखि सञ्चालनमा आएको जानकारी दिनुभयो ।

योसँगै वर्षौँदेखि सञ्चार सुविधाबाट वञ्चित फोक्सुन्डो ट्रेल, यार्सा पाटनसहित आधा दर्जन बस्तीहरू सञ्चारको पहुँचमा जोडिएका उहाँले उल्लेख गर्नुभयो । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको चासो र सक्रियतामा टेलिकमको नेटवर्क विस्तार, कुना कन्दरामा इन्टरनेटको पहुँच अभिवृद्धि भएको हो ।

यसअघि गत असोज ३१ गते पर्यटकीय गन्तव्य मनाङको तिलिचो बेसक्याम्पमा पहिलोपटक फोरजी सेवा विस्तार भएको थियो । त्यतिमात्र हैन मन्त्री खरेलको सक्रियतामा गत असोज ३० गतेबाटै बझाङको तलकोटमो पनि पहिलो पटक फोरजी सेवा विस्तार भएको थियो । 

गत असोज ३१ गते नै दार्चुचालको मार्मा गाउँपालिकामा टेलिकमको टुजी र फोरजी सेवा सुरु भएको छ । जाजरकोटमा दुई सातादेखि अवरुद्ध दूरसञ्चार सेवा सञ्चारमन्त्रीको ताकेतापछि सूचारु भएको थियो ।

सञ्चारमन्त्री खरेलले टेलिफोन र इन्टरनेट नपुगेका मुलुकका दुर्गम क्षेत्रहरुमा उक्त सेवाको पहुँच पु¥याउन लागिपरेको बताउनुभयो । उहाँले सञ्चार पहुँच प्रत्येक नागरिकको अधिकार रहेको बताउदै सबै जिल्लामा समान सेवा सुनिश्चित गर्न टेलिकमलाई निर्देशन दिनुभएको छ ।

सुदूरपश्चिम प्रदेशको बिकट हिमाली जिल्ला बाजुराको बुढीनन्द गाउँपालिकामा फोरजी इन्टरनेट सेवा सुचारु भएको छ । बुढीनन्दका विभिन्न वडा मात्रै नभई मार्तडी–कोल्टी मार्ग र आसपासका बस्तीहरूमा पनि इन्टरनेट तथा मोबाइल सञ्जालमा सुधार आएको स्थानीयहरूले बताएका छन् ।

यसअघि यस क्षेत्रमा भ्वाइस र डेटा सेवा घाम लागेको बेला मात्रै चल्ने गरेको गुनासो स्थानीयहरूले गर्दै आएका थिए । नयाँ टावर सञ्चालनमा आएपछि अब आपतकालीन सम्पर्क, अनलाइन कारोबार, र पारिवारिक सन्देश आदान–प्रदान सहज भएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार हाल मोबाइल ब्रोडब्याण्डअन्तर्गत नेपाल दूरसञ्चार कम्पनीको बजार हिस्सा ५५ दशमलव ९६ प्रतिशत र एनसेलको ४४ दशमलव ०४ प्रतिशत पुगेको छ । 

अर्थात् गत भदौसम्म नेपाल टेलिकममा मोबाइल प्रयोगकर्ता एक करोड ४३ लाख ५४ हजार ८०४ र एनसेलका एक करोड ३९ लाख ८१ हजार ८७५ पुगेका छन् । प्राधिकरणका अनुसार हाल फिक्स्ड ब्रोडब्याण्ड ९वायर्ड० ४८ दशमलव ८२ प्रतिशत जनसंख्यामा पुगेको छ । 

साथै मोबाइल ब्रोडब्याण्ड ९१ दशमलव ५५ प्रतिशत जनसंख्यामा पहुँच विस्तार भएको छ । मुलुकभर हालसम्म फोरजी सेवा ८८ दशमलव ६८ प्रतिशत, फाइभर सेवा ४८ दशमलव ८१ प्रतिशत, टुजी सेवा १० दशमलव ३६ प्रतिसत र थ्रीजी सेवा दुई दशमलव ८६ प्रतिशतमा पुगेको छ ।

नेपाल टेलिकमले हाल सुदूरपश्चिम प्रदेशका बझाङ, बाजुरा, दार्चुला, डोटी, अछाम र बैतडीका दुर्गम स्थानहरूमा नयाँ टावर जडान र पुराना टावरहरू अपग्रेड गर्ने कार्यलाई निरन्तरता दिएको जनाएको छ ।

यस्तै डोल्पाको दुईवटा स्थानीय तहका रह, परिला, काग्नी, साँङ्टा, छेप्का लगायतका बस्तीहरूमा फोन लाग्नुका साथै इन्टरनेटको पहुँच पनि पुगेको छ । टावर बनेसँगै सुलिगाड स्थित शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जको कार्यालय, सैनिक ब्यारेक क्षेत्रमा पनि राम्रो काम गरेको बताइएको छ ।

निजी क्षेत्रको सेवा प्रदायक कम्पनी एनसेलले पनि गुणस्तर सुधार र सेवा विस्तारमा आक्रामक रुपले अघि बढेको छ । विशेषगरी मधेश र कोशी प्रदेशलाई प्राथमिकतामा राखी आगामी पुसभित्र २०० वटा टावर विस्तार गर्ने लक्ष्य अनुरुप हालसम्म ४५ वटा टावर जडान गरिसकेको कम्पनीले जनाएको छ । 

हाल एनसेलको फोरजी सेवा विभिन्न दुर्गम क्षेत्रसहित ९५ प्रतिशत जनसंख्यामा पहुँच विस्तार भइसकेको छ भने ९२ प्रतिशत भन्दा बढीमा टुजी सेवा छ ।

यसैबिच दाङको केही स्थानहरुमा टेलिफोन र इन्टरनेट सेवा नभएको विषयबारे गुनासो आएपछि सञ्चारमन्त्रीले तत्कालै टेलिकमका कर्मचारीलाई निर्देशन दिएलगत्तै टेलिकमको डिभिजन कार्यालयका प्रमुख वरिष्ठ इन्जिनियर प्रविण चौधरी नेतृत्वको प्राविधिक टोली फिल्डमा खटिएर मर्मत गरेको थियो । 

घोराही उपमहानगरपालिका ३ र ५ का केहि क्षेत्रमा देखिएको नेटवर्क समस्या समाधान भएको थियो । टेलिकम तुल्सीपुर दाङले फोरजी नेटवर्क सुधार गरेको जनाइएको छ