• २८ कात्तिक २०८२, शुक्रबार

बिष्ट हत्या प्रकरणका चार जनालाई जन्मकैदको फैसला

blog

केशव राज भट्ट 

वाशुलिङ (बैतडी), कात्तिक २८ गते । बैतडीको पाटन नगरपालिका–६ का चालक बिरभान बिष्टको हत्यामा संलग्न चार जनालाई जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ । 

बुधबार जिल्ला अदालत बैतडीले २०८१ असार १ गते चालक बिष्टको हत्यामा संलग्न रहेका चार जनालाई जन्मकैदको फैसला सुनाइएको जिल्ला अदालत बैतडीका श्रेस्तेदार विष्णुराज पन्तले जानकारी दिनुभयो । 

हत्यामा संलग्न मृतक बिरभानकी बुहारी नाता पर्ने शिक्षिका समेत रहेकी भागरथी बिष्ट, पाटन–६ कै ३८ वर्षीय भरत मोहन बिष्ट, पाटन–१ का १९ वर्षीय राजेन्द्र भट्टराई र पाटन–६ का २६ वर्षीय आशिष प्रहरीलाई जन्मकैदको फैसला सुनाइएको हो भने अर्का १८ वर्षमुनिका किशोरलाई १६ वर्षको कैद सजाय सुनाइएको हो । 

गाउँकै बुहारी नाता भागरथीको घरमा २०८१ असार १ गते हत्या गरी राखेको र त्यसको दुई दिनपछि पाटन–पञ्चेश्वर सडकखण्डको घङाल खोलमा शव फालिएको थियो । असार ३ गते बिरभानको शव सो स्थानमा फेला परेको थियो । २०८१ असार २३ गते भएको थुनछेक बहसमा हत्यामा संलग्न पाँचै जनालाई पुर्वपक्षका लागि कारागार चलान गरिएको थियो । २६ गतेका दिन उनीहरुलाई जन्म कैदको फैसला सुनाइएको जिल्ला अदालत बैतडीले जनाएको छ ।