नवीनराज कुइँकेल
लमजुङ, कात्तिक २८ गते । लमजुङको मर्स्याङ्दी नदीमा बन्न लागेको ५० मेगावाटको मर्स्याङ्दी बेँसी जलविद्युत् आयोजना निर्माणको स्थानीयले विरोध गरेका छन् । सदरमुकाम बेँसीसहरका नागरिकहरुले आयोजना निर्माणको विरोध गरेका हुन् ।
बेँसीसहरबासीले जलविद्युत् आयोजना निर्माणले बेँसीसहरको सुन्दरता बिगार्ने र सहरलाई दूरगामी रुपमा नकरात्मक प्रभाव पर्ने गरी जलविद्युत् आयोजना निर्माण हुन दिन नहुने भन्दै मर्स्याङ्दी बचाउ अभियान सञ्चालन गरेका छन् ।
‘प्रकृति बचाऔं, मर्स्याङ्दी बचाऔं’ भन्ने नारा लिएर बेँसीसहरका युवाहरुले भेलाले मर्स्याङ्दी बचाऔं सङ्घर्ष समिति गठन गरेको छ । मर्स्याङ्दी नदीमा कुनै पनि हालतमा जलविद्युत् योजना बन्न नहुने निष्कर्ष निकाल्दै अहिले निर्माणको क्रममा रहेको ५० मेगावाट क्षमताको मर्स्याङ्दी बेँसी जलविद्युत् आयोजनाको विरोधमा उत्रिने मर्स्याङ्दी बचाऔं सङ्घर्ष समितिले जनाएको छ । सङ्घर्ष समितिको संयोजकमा रामबहादुर थापा, सह संयोजकमा जनकराज बस्नेत, सचिवमा सुरेशकुमार प्रधान, कोषाध्यक्षमा नेत्रबहादुर गुरुङ रहनुभएको छ । समितिमा २७ सदस्य छन् ।
मर्स्याङ्दी नदी प्रकृतिले बेँसीशहरलाई दिएको सुन्दर वरदान हो भन्दै मर्स्याङ्दी नदीलाई सुरुङमा पठाउँदा बेँसीशहरको सुन्दरता नासिने मात्र नभई खानेपानीका मूल सुकेर खानेपानी अभाव हुने, कमजोर भूबनोटका कारण पहिरोको समस्या आउने, जलचरको विनाशलगायत इकोसिस्टममा प्रभाव पार्ने र परम्परादेखि चल्दै आएको धार्मिक तथा सांस्कृतिक रीतिस्थितिमा पनि अवरोध हुने भएकाले आयोजनाको विरोध गरेको सङ्घर्ष समितिका संयोजक राम थापाले बताउनुभयो ।
बेँसीसहर नगर क्षेत्रमा निःशर्त रुपमा मर्स्याङ्दीको प्राकृतिक बहावमा परिवर्तन हुन नहुनेमा जोड दिँदै उहाँले स्थानीयलाई बेवास्ता गदै बलमिच्याइँ गरेर जलविद्युत् आयोजना निर्माण अघि बढाइएमा स्थानीयले जुनसकै मूल्य चुकाउन पनि तयार रहेको बताउनुभयो ।
नेपालको प्रचलित कानुनले शहर बजारको ४–५ किलोमिटर वरपर जलविद्युत् योजना बनाउन नहुने व्यवस्था भए पनि उक्त कानुन तोडेर आयोजना निर्माण गर्न लागिएकाले विरोध गर्नुपरेको स्थानीयको भनाइ छ ।
सङ्घर्ष समितिले बेँसीसहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्याललाई भेट गरी बेँसीशहरका बासिन्दाको मुद्दा र नगरपालिकाको दृष्टिकोणबारे छलफल गरेको थियो । छलफलमा मेयर गुमानसिंह अर्यालले बेँसीसहर नगरपालिका बेँसीशहरका बासिन्दाको साथमै रहेको, यहाँका जनताका समस्या र मुद्दा नगरपालिकाको समेत रहेकाले नगरपालिकाको तर्फबाट गर्न सक्ने सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । यसैगरी, सङ्घर्ष समितिले प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेलाई पनि ध्यानाकर्षण पत्र बुझाएको छ ।
बेँसीसहर नगरपालिकामा पर्ने यो आयोजना अपि पावर कम्पनीले निर्माण गर्न लागेको छ । सुरुमा दिव्यज्योति हाइड्रोपावर लिमिटेडले आयोजनाको सर्वे, परीक्षण र पिपिए गरेको थियो । दिव्यज्योतिको सम्पूर्ण सेयर अपि पावर कम्पनीले खरिद गरिसकेको छ । आयोजनाको कुल लगानी करिब १० अर्ब रुपियाँ अनुमान गरिएको छ । यसमा ३० प्रतिशत इक्विटी लगानी प्रवर्धक समूहबाट र ७० प्रतिशत ऋण लगानी बैंकहरूबाट हुनेछ । आयोजना दुई वर्ष छ महिनाभित्र व्यावसायिक उत्पादनमा आउने लक्ष्य राखिएको छ । आयोजनाबाट उत्पादन हुने विद्युत् नेपाल विद्युत प्राधिकरणको उदिपुर सबस्टेशनमा जोडिनेछ, जसले राष्ट्रिय प्रसारण प्रणालीमा महत्वपूर्ण योगदान पुर्याउनेछ ।
स्थानीयले आयोजना निर्माण नै गर्न नदिने भन्दै विरोध सुरु गरे पनि अपि पावर कम्पनी लिमिटेडले आयोजनाका लागि इलेक्ट्रो–मेकानिकल उपकरण आपूर्ति तथा जडान कार्यको सम्झौता गरेको छ । सम्झौता अनुसार ट्रोयर एजी, इटालीलाई उपकरण आपूर्ति र जडान कार्यको जिम्मेवारी दिइएको छ ।