• २८ कात्तिक २०८२, शुक्रबार

दिल्ली विस्फोटपछि काश्मीरमा भारतीय प्रहरीको व्यापक छापामारी

blog

नयाँदिल्ली, कात्तिक २८ गते । भारतको राजधानीमा एक दशकभन्दा बढी समयपछिको सबैभन्दा घातक विस्फोट भएको केही दिनमै भारतीय प्रहरीले विवादित काश्मीरमा प्रतिबन्धित इस्लामवादी राजनीतिक पार्टीलाई लक्षित गर्दै व्यापक छापा मारेको छ ।

सोमबार ऐतिहासिक लालकिल्ला नजिक पुरानो दिल्ली क्षेत्रमा भएको विस्फोटमा कम्तीमा १२ जनाको मृत्यु भएको थियो । प्रहरीको पछिल्लो अपरेसन सो विस्फोटसँग प्रत्यक्षरूपमा जोडिएको छ भन्ने पुष्टि नभए पनि सरकारले यस घटनालाई ‘जघन्य आतङ्ककारी कृत्य’ भन्दै ‘राष्ट्रविरोधी शक्ति’ जिम्मेवार रहेको टिप्पणी गरेपछि सुरक्षा कडाइका नयाँ कदमस्वरूप छापा सुरु गरिएको बताइएको छ ।

भारत प्रशासित काश्मीरका विभिन्न जिल्लामा बुधबारदेखि धेरै स्थानमा छापामारी गरिएको जिल्ला प्रहरीले जनाएको छ । काश्मीर क्षेत्र सन् १९४७ मा ब्रिटिस शासनबाट दुवै देश स्वतन्त्र भएयता भारत र पाकिस्तानबिच विभाजित छ र दुवैले यस हिमाली क्षेत्रमाथि पूर्ण दाबी गर्दै आएका छन् । नयाँदिल्ली-इस्लामाबादबिच तनाव निरन्तर उच्च छ ।

अवन्तीपोर, बन्दिपोर, गान्दरबल, शोपियाँ र सोपोरलगायत जिल्लाका प्रहरी कार्यालयले जारी गरेका विज्ञप्तिका अनुसार यी छापा जमात-ए-इस्लामी (जेइआई) लाई लक्षित थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको हिन्दू-राष्ट्रवादी सरकारले सन् २०१९ मा जेइआई-कश्मीर शाखालाई ‘गैरकानुनी सङ्गठन’ घोषणा गरी प्रतिबन्ध लगाएको थियो ।

अवन्तीपोर प्रहरीले जारी गरेको विज्ञप्तामा ‘आतङ्कवादी इकोसिस्टम र त्यसलाई समर्थन गर्ने संरचना नष्ट गर्न’ धेरै ठाउँमा ‘लार्ज-स्केल अपरेसन’ चलाइएको उल्लेख छ । बन्दिपोर प्रहरीले ‘आपत्तिजनक सामग्री’ जफत गरेको जनाएको छ भने सोपोर प्रहरीले ३० भन्दा बढी स्थानमा खोजी गर्दै ‘जमात-ए-इस्लामी-सम्बन्धित नेटवर्कविरुद्ध ठूलो अपरेसन’ गरेको बताएको छ ।

यससँगै, राजधानी दिल्लीको दक्षिणी बाहिरी क्षेत्रमा पर्ने फरिदाबादस्थित अल-फलाह विश्वविद्यालयमा पनि छापामारी गरिएको छ । सुरक्षा बलले शुक्रबार काश्मीरको पुलवामा जिल्लामा एउटा घर ध्वस्त पारेका छन् । यद्यपि प्रहरी पक्षबाट यसबारे औपचारिक टिप्पणी आएको छैन । अघिल्ला घटनामा कानुन कार्यान्वयन निकायले आक्रमणमा संलग्न भएको आरोपितका संरचना नष्ट गर्ने गरेको इतिहास छ ।

सोमबारको विस्फोटको अनुसन्धान भारतको राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआइए) ले नेतृत्व गरिरहेको छ । सरकारले अपराधी, तिनका सहयोगी तथा प्रायोजकलाई’ न्यायको कठघरामा ल्याइने प्रतिबद्धता व्यक्त गरेको छ । तर अहिलेसम्म यो आक्रमण स्वदेशी समूहले गरेको हो वा विदेशी समन्वय थियो भन्नेबारे स्पष्ट विवरण सार्वजनिक गरिएको छैन ।

भारतीय मिडियाले नोभेम्बर १० मा पक्राउ परेका व्यक्तिको शृङ्खलालाई विस्फोटसँग जोडेर व्यापक रूपमा समाचार प्रसारण गरेका छन् । ती व्यक्ति पाकिस्तानमा आधारित अल-कायदासँग सम्बन्धित जैश-ए-मोहम्मद (जेएम) तथा यसको काश्मीर शाखा अन्सार गजवत-उल-हिन्दसँग सम्बन्धित रहेको प्रहरीले जनाएको छ ।

काश्मीर प्रहरीले सोमबारै दिएको भनाइमा विस्फोटभन्दा केही समयअघि गरिएको पक्राउले ‘पाकिस्तान तथा अन्य देशबाट सञ्चालित कट्टरपन्थी पेशेवर तथा विदेशी ह्यान्डलरसँग सम्पर्कमा रहेका विद्यार्थी समावेश भएको सेतो-कलर आतङ्ककारी इकोसिस्टम’ फेला परेको दाबी गरेको थियो ।

यसअघि अप्रिल २२ मा भारत प्रशासित काश्मीरको पहलगाममा भएको आक्रमणमा २६ जना मुख्यतया हिन्दू नागरिक मारिएका थिए । त्यसपछि भारत-पाकिस्तानबिच तीव्र तनाव उत्पन्न भएको थियो । सोमबारको दिल्ली विस्फोट त्यसयताकै सबैभन्दा गम्भीर सुरक्षा घटना मानिएको छ । रासस/एएफपी