• २८ कात्तिक २०८२, शुक्रबार

वन्यजन्तु र पशुचौपायाबाट खेती जोगाउन तारबार

blog

उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–३, नाम्ग्यालमा खेतबारी आसपासमा तारबार गरिँदै ।

हरिकृष्ण शर्मा 

मुक्तिनाथ (मुस्ताङ), कात्तिक २८ गते । उपल्लो मुस्ताङमा वन्यजन्तु तथा घरपालुवा जनवारहरूबाट हुने नोक्सानी रोक्न खेतीयोग्य जमिनमा तारबार गरिएको छ । 

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), इलाका संरक्षण कार्यालय लोमान्थाङले समुदायको माग अनुसार खेतबारीमा बन्यजन्तु र पशुचौपाया छेक्ने तारबार निर्माण गरिएको हो । बस्ती आसपासका क्षेत्रबाट आउने जंगली जनावर, च्याङ्ग्रा सहित अन्य घरपालुवा जनावरको बथानले मौसमी तथा बेमौसमी खेतीमा क्षति पुर्‍याउन थालेपछि खेतबारीमा तारबार गरिएको एक्याप प्रकृतिक स्रोत संरक्षण सहायक मदन पौडेलले बताउनुभयो ।

एक्पाप लोमान्थाङले चालु आर्थिक बर्ष २०८२-०८३ सालमा लोमान्थाङ गाउँपालिका–२, अर्कामा साढे दुई सय मिटर, लोमान्थाङ–३, नाम्ग्यालमा साढे २ सय मिटर, लोमान्थाङ–४, किमलिङमा १ सय ८० मिटर, वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ छुसाङको ध्याकर लगायतका क्षेत्रमा तारबार बाँकी रहेको संरक्षण सहायक पौडेललको भनाई छ । बन्यजन्तुबाट चरन क्षेत्र तथा बस्तीमा समेत पशुचौपायामा क्षती पुर्‍याउने, खेतबारीमा अन्नबाली नष्टको मुल्याङ्कन गरी क्षर्तीपुर्ती दिने गरेको एक्यापले तारबार सहित सचेतनामुलक अभियानलाई समेत तिब्रता दिएको छ । 

तारबार तथा समुदायस्तरका गतिविधिमा संरक्षण क्षेत्र व्यवस्थापन समितिको सक्रियताका काम हुने गरेको एक्याप लोमान्थाङका प्रमुख उमेश पौडेलले बताउनुभयो । प्रमुख पौडेलले भन्नुहुन्छ,‘‘धेरैपटक क्षती हुने ठाउँमा तारबारलाई प्राथमिकता दिइएको छ, आगामी दिनमा यसलाई थप विस्तार गर्ने योजना छ ।’’ दिउँसो घरपालुवा जनावर तथा रातमा जंगली जनावर बथानमा आएर कृषिजन्य उत्पादनमा क्षति पुर्‍याउन थालेपछि स्थानीय चिन्तित थिए । तारबारले मानव र वन्यजन्तुबिचको द्वन्द्व न्यूनीकरणमा समेत सघाउने स्थानीयबासीको भनाइ छ । 

वर्षमा एकबाली हुने उपल्लो मुस्ताङको लोमान्थाङ, लो–घेकर दामोदरकुण्ड गाउँपालिका र वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ छुसाङ एक्याप इलाका संरक्षण कार्यालय लोमान्थाङको मातहतमा रहेकाले समुदायस्तरबाट संकलित योजनामार्फत नै कार्यक्रम कार्यान्वयन गरिन्छ । 

उपल्लो मुस्ताङमा खेतीबारीमा सबैभन्दा बढी नोक्सानी नाउरबाट हुने गरेको छ भने भालु, तिब्बती ज्याजल, फ्याउ मुसा, वन खरायो र किसानले चरन क्षेत्रमा छोडेका भेडाच्याङ्ग्रा, घोडा, खच्चडले समेत खेतीपाती नष्ट गर्ने गरेको छ । ब्वाँसो र हिउँ चितुवाले वर्षेनी बस्ती र घुम्ती गोठमा राखिएको भेँडाच्याङ्ग्रा मारेर किसानलाई दुःख दिन्छ। चरन क्षेत्रमा प्रयाप्त आहारा नहुँदा बन्यजन्तु बस्ती आसपासका क्षेत्रमा आउने गरेकाले तारबार अनिवार्य जस्तै भएको छ ।