अनिल पराजुली
हेटौँडा, कात्तिक २८ गते । पूर्वी मकवानपुरको बागमती गाउँपालिकामा १०४ जना सुकुम्वासी र भूमिहीन दलित परिवारले जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) प्राप्त गर्नुभएको छ । गाउँपालिकाले वडा १ का ४३ जना, वडा २ का ३० जना र वडा ६ का ३१ जनालाई जग्गाधनी पुर्जा वितरण गरेको हो ।
वडा ६ मा कात्तिक २६ गते र वडा १ तथा २ मा कार्तिक २७ गते लालपुर्जा वितरण कार्यक्रम सम्पन्न भएको गाउँपालिकाले जनाएको छ । कार्यक्रममा गाउँपालिका अध्यक्ष सर्केश घलान, प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर दर्जीलगायतका प्रतिनिधिहरूले लालपुर्जा हस्तान्तरण गर्नुभएको थियो ।
लालपुर्जा वितरण गर्दै अध्यक्ष घलानले भूमि अधिकार हरेक नागरिकको आधारभूत हक भएको भन्दै भूमिहीन, दलित तथा सुकुम्वासी परिवारलाई सुरक्षित बसोबास सुनिश्चित गर्न यो कदम चालिएको बताउनुभयो । साथै, गाउँपालिकाले विद्युत्, सडक, खेलकुद, स्वास्थ्य र शिक्षालगायत विकासका क्षेत्रमा समान प्राथमिकता दिइरहेको उल्लेख गर्नुभयो ।
पालिकाले हालसम्म तीन चरणमा १५४ जना सुकुम्वासी र भूमिहीन दलित परिवारलाई जग्गाधनी पुर्जा वितरण गरिसकेको छ । पालिकाले १, २, ३, ४, ५ र ६ नं. वडामा जग्गाको नाप जाँच गरी जग्गाधनी पुर्जा वितरण गरेको स्थानीय विवेक सिङ्तानले जानकारी दिनुभयो । पालिकाले बाँकी रहेको ७ र ९ नं. वडामा पनि धमाधम जग्गाको नाप जाँच कार्य गरिरहेको छ । जग्गाधनी पुर्जा नहुँदा बैक तथा वित्तीय प्रयोजन तथा अन्य कामका लागि भोग्दै आएको समस्या घट्ने भएपछि जग्गाधनी पुर्जा पाएसँगै यहाँका स्थानीयवासी खुसी हुनुभएको छ ।