• २८ कात्तिक २०८२, शुक्रबार

‘वन्यजन्तु समुदायको गहना हो’

blog

इलाका–संरक्षण कार्यालय जोमसोममा आयोजित राहत वितरण तथा वन्यजन्तु संरक्षण कार्यक्रम ।

हरिकृष्ण शर्मा

मुक्तिनाथ (मुस्ताङ), कात्तिक २८ गते । वन र वन्यजन्तु समुदायको गहना भएकाले संरक्षणमा स्थानीय समुदायको सक्रिय सहकार्यविना सम्भव नहुने मुस्ताङका सरोकारवालाले बताएका छन् । 

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना–इलाका संरक्षण कार्यालय जोमसोमको आयोजना तथा संरक्षण क्षेत्र व्यवस्थापन समिति जोमसोमको समन्वयमा सदरमुकाम जोमसोममा आयोजित कार्यक्रममा वन्जयन्तु विनाको जङ्गलको कल्पना पनि गर्न नसकिने भन्दै संरक्षणको पहिलो अगुवाइ समुदायबाट हुनुपर्नेमा जोड दिइएको थियो । 

वन्यजन्तु संरक्षण सचेतना तथा राहत वितरण कार्यक्रमको उद्घाटन गदैं घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिङ लालचनले समुदायस्तरमा संरक्षणको सचेतना जगाउन एक्यापसँग सहकार्य गरिएकाले चोरीनिकासी न्यूनीकरण भएको बताउनुभयो । अध्यक्ष लालचनले भन्नुभयो, ‘‘समुदायको सक्रियतासँगै नोक्सानी भएमा सम्बन्धित निकायले राहतमा ढिलासुस्ती गर्न हुँदैन ।’’ गाउँपालिका अध्यक्ष लालचनले वन्यजन्तुको महत्वका बारेमा समुदायस्तरमा बुझाउन सकेमा पनि चोरीसिकारी न्यूनीकरणका साथै वन्यजन्तु र मानवबीचको द्वन्द्व न्यूनीकरणमा सघाउने बताउनुभयो । 

सोही अवसरमा एक्याप–इलाका संरक्षण कार्यालय जोमसोमका प्रमुख राजेश गुप्तले बस्ती तथा चरन क्षेत्रमा रहेका पशुचौपायाका धनी, गोठालाका साथै स्थानीय समुदायको सक्रियतामा पछिल्लो समय चोरी शिकारी न्यूनीकरण भएको बताउनुभयो । प्रमुख गुप्त भन्नुहुन्छ,’’ वन्यजन्तुको संरक्षणले पर्यावरणसँगै पर्यटन प्रर्बधनमा समेत सघाउँछ, वन्यजन्तुको संरक्षण समुदायको सहकार्यविना सम्भव छैन।’’एक्याप जोमसोमले वनजंगल र वन्यजन्तुको संरक्षण भएमा प्रकृतिसँग रमाउन आउने पर्यटकमार्फत समुदायले आयआर्जन गर्न सकिने भएकाले लोपाेन्मुखसहित नियमित पाइने वन्यजन्तुको जैविक मार्गमा संरचना नबनाउने, वासस्थान क्षेत्रमा निगरानी बढाउनुपर्ने जनाएको छ । 

कार्यक्रममा घरपझोङ गाउँपालिकाका उपाध्यक्ष जमुना थकाली थापा मगर, वडा ५ का अध्यक्ष प्रदीप थकाली, थासाङ गाउँपालिका वडा २ का अध्यक्ष गौतम शेरचन, पशु तथा भेटेरिनरी कार्यालय मुस्ताङकी सूचना अधिकारी बविता नेपाली, संरक्षण क्षेत्र विकास समितिका अध्यक्ष चन्द्रबहादुर थकाली, पशुपालक कृषक, गोठाला, पत्रकारसहित सरोकारवाला गरी ३५ जनाको सहभागिता थियो । यसैबीच सोही अवसरमा आव.२०८०-०८१ र २०८१-०८२ मा वन्यजन्तुबाट भएको पशुधन क्षति भएका २६ घरधुरीलाई १३ लाख १८ हजार रुपियाँ हस्तान्तरण गरिएको थियो ।