• २८ कात्तिक २०८२, शुक्रबार

कोरियाका राजदूतलाई नेपालीको अभिभावक बनेर काम गर्न सञ्चारमन्त्रीको आग्रह

blog

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल दक्षिण कोरियाको सिओलस्थित नेपाली राजदूतावासको अवलोकनपछि छलफल गर्नुहुँदै ।

काठमाडौँ, कात्तिक २८ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले दक्षिण कोरियामा रहेका सम्पूर्ण नेपालीहरुको अभिभाव बनेर काम गर्न अनुरोध गर्नुभएको छ । दक्षिण कोरियाको सिओलस्थित नेपाली राजदूतावासको अवलोकन गर्नुहुँदै मन्त्री खरेलले कोरियामा रहेका नेपालीहरुको हक, अधिकार र समस्याको सहजिकरण गर्नुपर्नेमा जोड दिनुभयो ।

सञ्चारमन्त्री खरेलले नेपाल र कोरियाको सम्बन्ध स्थापित गर्दै नेपालमा धेरैभन्दा धेरै कोरियन लगानी भित्र्याउने वातावरण बनाउन भूमिका खेल्न राजदूतलाई आग्रह गर्नुभयो ।

नेपालका लागि दक्षिण कोरियाका राजदूतले नेपालीको पक्षमा काम गर्न नसकेको, दुई देशबिच सम्बन्ध र सहयोग विस्तारमा प्रभावकारी भूमिका खेल्न नसकेको गुनासो आइरहेको सन्दर्भमा सञ्चारमन्त्री खरेलले नेपालीमैत्री भएर काम गर्न, दुई देशबिचको आपसी हित र सहकार्यबारे पहलकदमी लिन आग्रह गर्नुभएको हो ।

सञ्चारमन्त्री खरेलले नेपाली राजदूतावास नेपालीहरुको अभिभावक बन्नुपर्ने, दूतावासले नेपाल र कोरियाबिचको सम्बन्ध स्थापित गरिनुका साथै नेपालमा कोरियाको धेरैभन्दा धेरै सहयोग सम्बन्ध विस्तार गरिनुपर्नेमा जोड दिनुभयो ।

राजदूत डा. शिवमाया तुम्बाहाम्फेले सीमित कर्मचारी, केही गैरआवासीय नेपाल संघ (एनआरएन) को विवादका कारण प्रभावकारी काम गर्न नसकिएको र विवादमा ल्याउन खोजिएको उल्लेख गर्नुभयो । उहाँले नेपालीको हक, अधिकार र समग्र नेपालको हितमा काम गर्न आफूले प्रतिबद्धताका साथ लागेको जिकिर गर्नुभयो ।

सो अवसरमा सञ्चारमन्त्री खरेलले दक्षिण कोरियाको सिओलमा नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को सिधा उडान सञ्चालनका लागि पहल गर्न पनि राजदूतावासको ध्यानाकर्षण गराउनुभयो । उहाँले कोरियामा रोजगारीका लागि गएका नेपालीहरुको मानसिक स्वास्थ्यका कारण भोगिरहेको विभिन्न खाले समस्याको समाधानका लागि पहल गर्न राजदूतावासलाई अनुरोध गर्नुभयो । उहाँले राजदूतावासमा दरवन्दी अनुसार थप जनशक्ति पठाउन पहल गर्ने बताउनुभयो ।

सञ्चारमन्त्री खरेलले नेपालको परिवर्तित राजनीतिक व्यवस्था र पछिल्लो परिवर्तनलाई सम्बन्धित देशका दूतावासले त्यहाँ रहेका नेपालीहरुसमक्ष पुर्‍याई सम्बन्धित देशको कूटनीतिक क्षेत्रमा पुर्‍याउन आग्रह गर्नुभयो ।  

उहाँले नेपाल जेनजी आन्दोलनपछि पुनः लयमा फर्किको शान्ति र स्थिरता कायम भई निर्वाचनतर्फ उन्मुख भएको सन्देश राजदूतावास र कूटनीतिक नियोगले प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो । सञ्चारमन्त्री खरेलले सिओलमा रहेको नेपाली राजदूतावासको अवलोकन गर्नुका साथै राजदूत र कर्मचारीसँग छलफल गर्नुभयो । मन्त्री खरेलले दूतावासले गरिरहेको काम कारबाहीको जानकारी लिदै सरकारको प्राथमिकता र राजदूतावासले गर्नुपर्ने कामको बारेमा आवश्यक निर्देशन दिनुभयो ।

दक्षिण कोरियाको सिओलमा आयोजना भएको ११ औं ‘ग्लोवल आइसिटी लिडरसिप फोरम’ मा सहभागी हुन सञ्चारमन्त्री खरेल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही कात्तिक २५ गते दक्षिण कोरिया जानुभएको थियो । सञ्चारमन्त्री खरेलका साथमा उहाँका स्वकीय सचिव उद्धव भट्टराई पनि कोरिया जानुभएको छ । कोरियाको विज्ञान र आइसीटी (एमएसआइटी) मन्त्रालय तथा नेशनल इनफर्मेशन सोसाइटी एजेन्सी (एनआइए) सँगको संयुक्त आयोजनामा सिओलमा आइसिटी लिडरसिप फोरम आयोजना गरिएको हो ।