• २८ कात्तिक २०८२, शुक्रबार

एक हजारभन्दा बढी मतदाता थपिए

blog

शङ्कर केसी

सल्यान, कात्तिक २८ गते । सल्यानमा एक हजार बढी नयाँ मतदाता थपिएका छन् । गत असोज १२ गतेदेखि सुरु भएको दर्ता अद्यावधिक कार्य अन्तर्गत जम्मा एक हजार ५० जनाले आफ्नो नामावली अद्यावधिक तथा नयाँ दर्ता गरेको जिल्ला निर्वाचन कार्यालय सल्यानले जनाएको छ । यसबिचमा ५२ जनाले मतदाता नामावली सारेर जिल्लाबाहिर गएको जिल्ला निर्वाचन अधिकारी धीरेन्द्र भण्डारीले जानकारी दिनुभयो । 

बुधबारसम्म नयाँ थपिएकासहित र नाम सारी गरेर जिल्लाबाहिर गएकाबाहेक जम्मा मतदाता एक लाख ६६ हजार ६५ जना रहेका छन् । भण्डारीका अनुसार गत असोजअघि जिल्लामा एक लाख ६५ हजार ६७ जना मतदाता थिए । सल्यानमा राजनीतिक दलहरूले अभियानकै रूपमा वा सार्वजनिक आह्वान गरेर मतदाता नामावली सङ्कलनमा सक्रियता नदेखाएको उहाँले बताउनुभयो । यही कात्तिक ३० गतेसम्म नयाँ दर्ता एवं अद्यावधिक कार्य चल्ने कार्यालयले जनाएको छ । 

देखिएन उत्साह 

पञ्चकोशी समाचारदाताका अनुसार दैलेख जिल्लामा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि मतदाता सङ्कलनमा नागरिकमा उत्साह कम देखिएको छ । जिल्ला निर्वाचन कार्यालय दैलेखमा विगतका निर्वाचनभन्दा यो पटक मतदाता नामावली सङ्कलन उत्साह कम देखिएको हो ।

जिल्लामा नागरिकको उत्साहजनक सहभागिता नदेखिएको जिल्ला निर्वाचन कार्यालय दैलेखका कम्प्युटर अपरेटर मदन लामिछानेले जानकारी दिनुभयो । सुरुमा राजनीतिक दलहरू मतदाता दर्ता अभियानमा सक्रिय नभएका कारण दर्ता हुनेको सङ्ख्यामा कमी थियो अहिले ती दलले अभियान चलाउन थालेपछि ५५–६० जनासम्म मात्र नाम दर्ता गर्न आउने गरेको उहाँले बताउनुभयो । गत चुनावको समयमा दैनिक कम्तीमा एक सयदेखि १५० जना दर्ताका लागि आउने गर्थे तर यसपालि त्यति उत्साह नदेखिएको उहाँले बताउनुभयो । हालसम्म ४५३ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् ।