खलङ्गा समाचारदाता
जाजरकोट, कात्तिक २८ गते । यहाँको एक कार्यालयले भत्किएको भवनबाट सेवा प्रवाह गरेको छ । विगत दुई वर्षअघि बारेकोट गाउँपालिका–१, रामीडाँडा केन्द्रविन्दु भई गएको भूकम्पले भत्किएको भवनबाट नलगाड सबडिभिजन वन कार्यालयले सेवा प्रवाह गरेको हो ।
भूकम्पले सरकारी कार्यालयसहित जनताका निजी आवास बस्न नमिल्ने भएपछि कार्यालय व्यवस्थापनका लागि उपयुक्त ठाउँ नहुँदा सोही भवनको तल्लो तलाबाट सेवा प्रवाह भइरहेको छ । माथिल्लो तला जोखिम हुँदा पनि त्रासबिच कर्मचारीले जनतालाई सेवा दिएका छन् । नलगाड सबडिभिजन वन कार्यालयका वनरक्षक धनबहादुर रावलका अनुसार भूकम्प गएको दुई वर्ष बिते पनि भवन निर्माण नहुँदा जोखिमयुक्त भवनबाट सेवा प्रवाह गर्नु परेको छ । गत वर्षदेखि भवन पुनर्निर्माणका लागि बजेट व्यवस्थापन हुने भनिए पनि हालसम्म न बजेटको व्यवस्था हुन सकेको छ न सुरक्षित कार्यालयको व्यवस्था भएको छ ।
उहाँका अनुसार कर्मचारीको आवाससहितको भवन भूकम्पले बस्न नमिल्ने गरी भत्किएपछि सो कार्यालयमा कार्यरत कर्मचारी कोठा भाडामा लिएर करिब एक किलोमिटर टाढा नलगाड नगरपालिका–२, छेप्का बस्नु परेको छ । माथि तला जोखिम भएकाले भत्किने त्रासले आरामसँग काम गर्न कठिन हुने गरेको उहाँको भनाइ छ । भूकम्पले भत्किएका सरकारी कार्यालय, जनताका निजी आवास पुनर्निर्माण गर्न स्थापना भएको पुनर्निर्माण कार्यालयको ढिलासुस्ती, सबडिभिजन वन कार्यालयको बेवास्ताका कारण सेवाग्राही र सेवाप्रदायक समस्यामा छन् ।
दुईतले भवनबाट सेवा दिएको कार्यालयले तल्लो तलामा खुम्चिएर बस्नु परेको छ । नलगाड सबडिजिभन वन कार्यालयका प्रमुख सन्तोष श्रेष्ठले गत वर्ष भवन पुनर्निर्माणका लागि सबडिभिजन वन कार्यालयबाट पुनर्निर्माणका लागि कागजात पेस गरे पनि बजेट व्यवस्थापन नभएको उहाँले बताउनुभयो ।