• २८ कात्तिक २०८२, शुक्रबार

बुवाको मृत्युपछि छोराछोरीको बिचल्ली

blog

घोडाघोडी समाचारदाता

घोडाघोडी (कैलाली), कात्तिक २८ गते । कैलालीको भजनी नगरपालिका–४, झल्झलियाका टीकाराम जैसीले भारतमा मजदुरी गरेर परिवार पाल्दै आउनुभएको थियो । उहाँको मृत्यु भएपछि भने परिवारको बिचल्ली भएको छ ।

भारतको हल्दवानीमा पल्लेदारीमा काम गर्ने जैसीको जन्डिसले थलिएपछि शनिबार घर फर्किंदै गर्दा बाटोमै मृत्यु भयो । उहाँको मृत्युसँगै परिवारको आम्दानीको दरिलो खम्बा पनि ढलेको छ । जैसीका चार र छ वर्षका दुई छोरा छन् भने आठ र १३ वर्षका दुई छोरी । छातीसम्बन्धी रोगकी बिरामी श्रीमती कमलाले सधैँ औषधी खानु पर्छ । परिवारमा आम्दानीको स्रोत भनेकै जैसीले भारतमा मजदुरीबाट गर्ने कमाइ नै थियो ।

उहाँको निधनले परिवारमा खर्च कसरी टार्ने भन्ने पिरलो मात्र परेको छैन, किरियाखर्च जुटाउन समेत धौ धौ परेको छ । जग्गाजमिन केही छैन । ओत लाग्ने यही एउटा कच्ची घर छ । त्यसमा पनि बिजुली बाल्न मिटर जोड्न नसकेको मृतककी श्रीमतीले बताउनुभयो । मृतकको दाहसंस्कार कार्यमा छ वर्षका छोराले दागबत्ती दिएपछि जल्दै गरेको चिताको नजिक अबोध बालक नाङ्गै बसेको तस्बिर सामाजिक सञ्जालमा भाइरल बनेको थियो । त्यसपछि अहिले जैसी परिवारको खोजीनीति हुने थालेको छ ।

कतिपयले जैसी परिवारका लागि सहयोग आह्वान गरेका छन् । मृतकका भाइ रमेशले सहयोग आउन थालेपछि भाउजूको नाममा बैङ्कमा खाता खोलिदिएको जनाउनुभयो । उहाँले बच्चाहरूको पढाइलेखाइ, भाउजूको उपचार र घरखर्चका लागि आर्थिक समस्या भएको उल्लेख गर्दै सहयोगी मनलाई सहयोग गर्न आह्वान गर्नुभयो ।