• २८ कात्तिक २०८२, शुक्रबार

दुर्लभ चरीबाघ सङ्कटमा

blog

बैतडी समाचारदाता

बैतडी, कात्तिक २८ गते  । जिल्लाका संरक्षित वनमा दुर्लभ मानिएको चरी भेटिए पनि वासस्थानवरिपरि जथाभाबी सडक निर्माणले चरीबाघको अस्तित्व सङ्कटमा परेको छ । हालै ग्वाल्लेक संरक्षित वननजिकै सडकको नालीमा अचेत अवस्थामा भेटिएको चरीबाघको उपचारका क्रममा मृत्यु भएको छ । 

दशरथचन्द नगरपालिका–९ स्थित ग्वाल्लेक संरक्षित वनसँगै जोडिएको सडक किनारमा अचेत भेटिएको चरीबाघ उपचारका क्रममा मरेको डिभिजन वन कार्यालय बैतडीका सूचना अधिकारी मदन जोशीले बताउनुभयो । संरक्षित वन क्षेत्र चरीबाघको वासस्थान भए पनि पछिल्लो समय जथाभाबी सडक निर्माणले त्यसमा खलल पुगेको उहाँले बताउनुभयो । दशरथचन्द नगरपालिकाको ग्वाल्लेक संरक्षित वन र सिगास गाउँपालिकाको सिगास संरक्षित वन चरीबाघको वासस्थान मानिन्छ । यी वनमा आहारा पाइने भएकाले चरीबाघको उपस्थिति रहेको वनकर्मीको भनाइ छ यद्यपि चरीबाघको सङ्ख्या भने यकिन छैन ।

गत वर्ष राष्ट्रिय प्रकृति संरक्षण कोषले बैतडीमा चितुवासम्बन्धी अनुसन्धान गर्न संरक्षित वन क्षेत्रमा जडान गरेका स्वचालित क्यामरामा चरीबाघसमेत देखिएको छ । ग्वाल्लेक संरक्षित वनमा चरीबाघ फेला परेको राष्ट्रिय प्रकृति संरक्षण कोष शुक्लाफाँटा कार्यालयका प्रमुख लक्ष्मीराज जोशीले बताउनुभयो ।