रामकृष्ण बोहरा
बागलुङ, कात्तिक २८ गते । बागलुङ नगरपालिका वडा नं. ४ निरयघाटमा निर्माण भएर पनि लामो समयदेखि अलपत्र परेको ‘वृद्धाश्रम’ मानवसेवा आश्रमले चलाउने भएको छ ।
दुई अघि दुई करोड २६ लाख रुपियाँ लागतमा बागलुङ नगरपालिकाले निर्माण गरेको वृद्धाश्रम मानवसेवा आश्रम बागलुङले चलाउने भएको हो । परिवारको अपहेलना तथा सहाराविहिन मानवहरुलाई आश्रय दिने उद्देश्यले २०७८ सालमा नगरपालिकाले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत वृद्धाश्रमका लागि भवन निर्माण गरेको थियो ।
परिवारबाट अपहेलित ज्येष्ठ नागरिक र असक्तलाई सम्मानपूर्वक मर्यादित र सहज जीवनयापन गर्न सहज होस् भन्ने उद्देश्यले वृद्धाश्रमका लागि भवन निर्माण गरिएको हो । निरयघाटस्थित जङ्गेश्वर महादेव लक्ष्मीनारायाण गुठीको पाँच रोपनी जग्गामा निर्मित वृद्वाश्रममा ध्यान केन्द्र, नर्सिङ सेन्टर, भान्सा र डाइनिङसहित १४ कोठा छन् ।
मानवसेवा आश्रममा क्षमताभन्दा बढि सहयोगापेक्षी भएकाले नगरपालिकाको अनुमतीमा वृद्धाश्रम पनि मानवसेवा आश्रमले सञ्चालन गर्ने तयारी गरेको आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले बताउनुभयो । आश्रमले निरयघाटमै सुविधा सम्पन्न भवन निर्माण गरिरहेको छ । आर्थिक अभावका कारण भवन समयमै सम्पन्न हुन नसकेपछि आश्रमले अहिले ज्ञानविज्ञान महायज्ञ सञ्चालन गरेर दान सङ्कलन गरिरहेको छ ।
नगरपालिकाले वृद्धाश्रम सञ्चालन गर्ने अनुकूल वातावरण नभएकाले मानवसेवा आश्रमको आवश्यकता र अनुरोध अनुसार तत्कालका लागि आश्रमलाई भवन सुम्पिन लागिएको नगरपालिकाका नगर उपप्रमुख राजु खड्काको भनाइ थियो । निर्माण भएको लामो समय बितिसक्दा पनि प्रयोग नहुँदा जीर्ण बन्न लागेको वृद्धाश्रमको भवन आश्रमले सदुपयोग गर्दा सहयोगापेक्षीलाई राहत हुनुका साथै भवनको संरक्षण हुने खड्काले बताउनुभयो ।
भवन निर्माण भएको लामो समयसम्म पनि कोही ज्येष्ठ नागरिक सम्पर्कमा नआउनु र मानवसेवा आश्रममा क्षमताभन्दा बढि असहाय, गरिब र सहाराविहीन आश्रित भएकाले वृद्धाश्रम मानवसेवाका लागि प्रयोगमा ल्याउन लागिएको खड्को भनाइ थियो । “वृद्धाश्रमको भवन प्रयोगमा आएसँगै घरमा बस्ने वातावरण नभएका, हेला–होचामा परेका र बेसहाराले संरक्षणसँगै खुसी जीवनयापन गर्न पाउने छन्’’ उपप्रमुख खड्काले भन्नुभयो ।