भारदह समाचारदाता
भारदह (सप्तरी), कात्तिक २८ गते । सप्तरीको राजविराज नगरपालिका–१, डुमरीका एक शिक्षिकाले स्थानीय सामुदायिक विद्यालयका विद्यार्थीलाई विगत सात वर्षदेखि निःशुल्क नियमित पठनपाठन गराउँदै आउनुभएको छ । राष्ट्रिय आधारभूत विद्यालय डुमरी शिवथानमा स्थानीय शिक्षिका सीमा यादवले सात वर्षदेखि निःशुल्क नियमित पठनपाठन गर्दै आउनुभएको हो ।
उहाँ २०६७ सालमा सोही विद्यालयमा अस्थायी दरबन्दीमा नियुक्ति पाएर शिक्षण पेसामा प्रवेश गर्नुभएको थियो । विद्यालयमा कार्यरत अस्थायी शिक्षकलाई स्थायी गर्नका लागि लिएको परीक्षामा अनुत्तीर्ण भएपछि उहाँलाई २०७५ सालमा शिक्षण पेसाबाट हटाइएको थियोे ।
जागिर गए पनि शिक्षण पेसाप्रतिको मोह नगएकाले यो पेसालाई तलबबिना नै निरन्तरता दिँदै आएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “२०६७ सालमा यही विद्यालयमा नियुक्ति पाएर जागिर सुरु गरेदेखि अहिलेसम्म निरन्तर निःस्वार्थ रूपले काम गरेकी छु । मलाई शिक्षण पेसा जस्तो आनन्द कुनै पेसामा लाग्दैन । फेरि आफ्नै समुदायका छरछिमेकका बालबालिकालाई पढाउन पाउँदा आत्मसन्तुष्टि हुँदो रहेछ ।”
उहाँले सुरुमा नियुक्ति पाएका बेला ११ हजार रुपियाँबाट सुरु भएको तलब शिक्षण पेसाबाट हटाउने बेलामा २४ हजार सात सय भए पनि सात वर्षदेखि तलबबिना सेवाको भावनाले शिक्षण पेसा गर्दै आएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “श्रीमान्को पनि जागिर छैन । खेतीपातीबाट जसोतसो चार छोरीसहितको परिवार चलेको छ । आम्दानीको कुनै विकल्प छैन तर मेरो मन यसै विद्यालयको शिक्षण पेसामा छ ।” कक्षामा पढाउन अन्य शिक्षक÷शिक्षिका जस्तै आफ्नो दैनिक रुटिन भएको उहाँले बताउनुभयो । विद्यालयका अन्य शिक्षक झैँ समयमा आएर छुट्टी भएपछि मात्र फर्किने गरेको उहाँले बताउनुभयो ।
विद्यालयका प्रधानाध्यापक धनीलाल साहले उहाँले यस विद्यालयलाई माया गरेका कारणले अन्य शिक्षक जस्तै स्वैच्छाले नियमित शिक्षण गर्दै आएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “विद्यालयमा शिक्षकको आवश्यकता भएका बेला तलब नपाए पनि विद्यालयको पठनपाठनलाई निरन्तरता दिने इच्छाले नियमित पठनपाठन गर्दै आएपछि हामीलाई सहज भएको छ तर पनि स्रोतको अभावले उहाँलाई केही उपलब्ध गराउन सकिएको छैन ।”