बाबुराम देवकोटा
सिन्धुलीमाढी, कात्तिक २८ गते । जेनजी समूहको आन्दोलनका क्रममा ज्यान गुमाएका सिन्धुलीका सहिद परिवारले सरकारले जेनजीको भावना अनुरूप काम गर्न नसकेको गुनासो गरेका छन् । गत भदौ २३ र २४ गते काठमाडौँमा जेनजी समूहको प्रदर्शनमा प्रहरीको गोली लागेर सिन्धुलीको गोलन्जोर गाउँपालिका–१, च्याकुटारका २५ वर्षीय योगेन्द्र न्यौपाने (रोशन) र तीनपाटन गाउँपालिका–६, भलायोडाँडा निवासी १९ वर्षीय दीपेश सुनुवारले ज्यान गुमाएका थिए । त्यस्तै प्रदर्शनकारीको कुटाइबाट प्रहरी सेवामा कार्यरत दुधौली नगरपालिका–८, खोरभन्ज्याङ निवासी ३३ वर्षीय मिलन रायलेसमेत ज्यान गुमाएका थिए ।
सुशासन कायम, भ्रष्टाचार नियन्त्रण र स्वदेशमा रोजगारीको अवसर सिर्जनाको माग गर्दै भएको उक्त प्रदर्शनमा ज्यान गुमाएका तिनै जनालाई सरकारले सहिद घोषणा गरेको छ । सहिद योगेन्द्रका पिता युवराज न्यौपानेले सरकारले जेनजीको भावना अनुरूप काम गर्न नसकेको गुनासो गर्नुभएको छ । उहाँले भन्नुभयो, “जेनजीले बेथिति, विकृति र विसङ्गतिविरुद्ध रगत बगाए । बाँकी सबै काम गर्ने भनेको सरकारले हो । त्यो खालको राज्य रहेन अहिले । भदौ २३ गते निहत्था बालबालिकालाई गोली हान्नेलाई न पव्रmाउ गर्न सक्यो, न जेल हाल्न सक्यो ।” राज्यले यसो गरिदिनु पर्छ भन्न अब त सहिद परिवारलाई पनि लाज भइसकेको उहाँले सुनाउनुभयो ।
गाउँकै एक प्राथमिक विद्यालयमा शिक्षण पेसामा कार्यरत न्यौपानेले जेनजीको माग र मुद्दालाई सम्बोधन गर्न नसक्दा सरकारले विश्वास गुमाउँदै गएको र पहिलेको सरकारभन्दा फरक नभएको बताउनुभयो । सहिद परिवारलाई रोजगारीको व्यवस्था गर्नुपर्ने उहाँको माग छ । परिवर्तनका लागि जेनजीले बलिदानी दिएको हुँदा तिनीहरूको नाममा सहिद पार्क बनाई सालिक निर्माण गरेर त्यो दिन सार्वजनिक बिदा दिइनुपर्ने उहाँको माग छ ।
सहिद योगेन्द्र पछिल्लो पटक गत वर्ष फागुनमा घर आउनुभएका थिए । काठमाडौँमा बसेर लोक सेवा आयोगको परीक्षाको तयारी गर्दै गर्नुभएका योगेन्द्रको घटना हुनु दुई दिनअघि मात्र टेलिफोनमा परिवारसँग सम्पर्क भएको थियो । “दसैँ आइरहेको थियो, दसैँमा घर आइहाल्छ भनेर धेरै लामो कुरा पनि भएन,” आमा लक्ष्मीले भन्नुभयो, “दसैँमा घर आउँछु, यसपालि मेरो परीक्षा राम्रो भएको छ । नाम निस्किन्छ, भन्थ्यो ।” योगेन्द्रले गत असार महिनामा शाखा अधिकृत पदको परीक्षा दिएको उहाँले जानकारी दिनुभयो ।
बाबुआमा, दुई दाजुभाइ र एक छोरी गरी पाँच जनाको परिवारमा योगेन्द्र जेठा छोरा हुनुहुन्थ्यो । काठमाडौँमा त्रिचन्द्र कलेजमा स्नातकोत्तर दोस्रो वर्षमा अध्ययनरत योगेन्द्रको अधिकृतमा नाम निकालेर राष्ट्रको सेवा गर्ने सपना थियो । राजनीति अनावश्यक हो, किन चासो लिनु भनेर अरूलाई बारम्बार सम्झाउने योगेन्द्र आफैँ आन्दोलनमा गोली लागेर शहादत प्राप्त गर्दा नजिकबाट चिन्ने जान्ने सबै छक्क परेको छिमेकी पेसल न्यौपाने बताउनुहुन्छ ।
त्यस्तै तीनपाटन गाउँपालिका–६, भलायोडाँडा निवासी सहिद दीपेश सुनुवार गत जेठ महिनामा मजदुरी गर्न काठमाडौँ गएकोमा सधैँका लागि नफर्कने गरी उतै अस्ताउनुभएको छ । भदौ २४ गते बानेश्वरमा भएको आन्दोलनका व्रmममा गोली लागेर गम्भीर घाइते भएका दीपेशलाई उपचारका लागि उहाँका साथीले अस्पताल पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।
सहिद दीपेशकी आमा भीममाया सहिदको सपना पूरा गर्न विशेष चासो दिन सरकारसँग अनुरोध गर्नुहुन्छ । उहाँले भन्नुभयो, “घरको सम्पूर्ण जिम्मेवारी समाल्ने बेलाको छोरो गुमाएका छौँ । हाम्रो आर्थिक अवस्था अत्यन्तै कमजोर छ, कान्छो छोरो सरकारी स्कुलमै पढ्दै छ, उसको पढाइ र रोजगारीको प्रत्याभूति सरकारले गरिदिए हुन्थ्यो ।”
बाबुआमा र दुई दाजुभाइ गरी चार जनाको परिवार रहेको सुनुवार परिवारका दीपेश जेठा छोरा हुनुहुन्थ्यो । दुर्गम स्थानमा आर्थिक रूपमा अत्यन्त दयनीय अवस्थामा हुर्केका दीपेशले कक्षा ९ सम्म पढेर बिचमै पढाइ छाडेर गत जेठमा मजदुरी गर्न भन्दै काठमाडौँ गएको आमा भीममायाले बताउनुभयो । उहाँले भन्नुभयो, “तिहारपछि घर आएर पासपोर्ट बनाएर विदेश जान्छु, घरको अवस्था सुधार गर्छु भन्थ्यो । कहिल्यै नआउने गरी उतै अस्तायो ।”
नेपाल सरकारले जेनजी आन्दोलनमा सहिद हुनेका परिवारलाई दिने भनेको राहत तिनै जनाको परिवारले पाइसकेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।