शशिधर पराजुली
विराटनगर, कात्तिक २८ गते । जेनजी आन्दोलनका व्रmममा भदौ २४ गते विराटनगर महानगरपालिका र मातहतका वडा कार्यालयसमेतमा गरी झन्डै एक अर्ब रुपियाँ बराबरको क्षति भएको छ ।
विराटनगर महानगरपालिकाले क्षतिको विवरण सार्वजनिक गर्दै भौतिक संरचना, सवारीसाधन र अन्य सम्पत्तिमा गरी एक अर्ब रुपियाँ बराबरको क्षति भएको जनाएको हो ।
मेयर नागेश कोइरालाका अनुसार भौतिक संरचनातर्फ २३ करोड ३७ लाख ५८ हजार २३४ रुपियाँ बराबरको क्षति भएको छ । जुन महानगरको प्रशासनिक भवनसहित वडा नम्बर १ देखि १२ र १९ नम्बर वडामा भएको क्षतिको विवरण हो ।
त्यस्तै जिन्सी सामग्रीतर्फ एक्साभेटर, शववाहन, मोटरसाइकल, जेनेरेटर, कम्प्युटर, फर्निचर, मसलन्द सामग्री आदिमा ७५ करोड २५ लाख ६३ हजार ४८५ रुपियाँ क्षति भएको महानगरले जनाएको छ । वडागत रूपमा सङ्कलन गर्नु परेका कारण क्षतिको पूर्ण विवरण आउन समय लागेको मेयर कोइरालाले बताउनुभयो ।
उहाँले भन्नुभयो, “यो त भौतिक र जिन्सी सामग्रीको क्षतिको विवरण हो । त्योभन्दा ठुलो क्षति त जनताका महìवपूर्ण कागजपत्र जलेर नष्ट भएको छ । घरजग्गा शाखा पूर्ण रूपमा जल्दा त्यहाँका सबै कागजपत्र नष्ट भयो । अन्य महाशाखा र शाखाका कागजपत्र पनि सबै जल्यो । ती सबै कागजपत्र जनतासँग सम्बन्धित नै थिए ।”
भौतिक संरचना र जिन्सीसहित ९८ करोड ६३ लाख २१ हजार ७१९ रुपियाँ क्षति भएको र त्यसका कारण नागरिकले पनि झन्झट, हैरानी र दुःख पाउनु परेको उहाँले बताउनुभयो । यद्यपि सेवा प्रवाहलाई महानगरपालिकाले नियमित गरिसकेको उहाँको भनाइ छ । प्राविधिक जाँचपछि बस्नयोग्य भवनमा रङरोगन, विद्युत् र नेट जडान धमाधम भइरहेको प्रमुख प्रशासकीय अधिकृत योगेन्द्र दुलालले जानकारी दिनुभयो ।