• २८ कात्तिक २०८२, शुक्रबार

लहानमा दुई हजारभन्दा बढि मोतियाबिन्दु बिरामी फेला

blog

लहान नगरपालिका २४ मा आयाजना गरिएको आँखा जाँचको निःशुल्क शिविरमा आँखा जचाउन सहभागी विरामीहरु । तस्बिर : जीवछ यादव

जीवछ यादव
लहान, कात्तिक २८ गते ।
 लहान नगरपालिकामा आयोजना गरिएको आँखा जाँच शिविरमा दुई हजारभन्दा बढि मोतियाबिन्दुको बिरामी फेला फरेको छ ।

सगरमाथा चौधरी आँखा अस्पताल लहानले तीन वर्षदेखि लहान नगरपालिकाको २४ वटै वडाहरुमा आँखा शिविर आयोजना गरेर गरिएको जाँचमा १८ हजार ३१७ बिरामीको जाँच गर्दा दुई हजार ५५३  जनामा मोतियाविन्दु भएको पाइएको हो । त्यसमध्ये एक हजार ९७७ जनाको शल्यक्रिया भएको आँखा शिविर प्रमुख राज कुमार यादवले जानकारी दिनुभयो ।

आँखा जाँच शिविरमा फेला परेका मोतियबिन्दुको पाँच सयभन्दा बढि बिरामीहरुको समेत खोजी गरेर शल्यक्रिया गरिने प्रमुख यादवले जानकारी दिँदै ५० वर्षभन्दा बढि उमेरका व्यक्तिहरुमा मोतियाबिन्दुको समस्या देखिएको छ ।

शल्यक्रियामा लाग्ने पाँच हजार खर्चमध्ये आधा खर्च लहान नगरपालिका र आधा खर्च सगरमाथा चौधरी आँखा अस्पतालले व्योहोर्ने गरी तीन वर्षदेखि शिविर चल्दै आइरहेकोे छ । काञ्कि २७ गते दुर्गम वडाको रुपमा रहेको २४ नम्बरमा शिविरमा ३३५ जनाको आँखा जाँच गर्दा ९९ जनामा मोतियाबिन्दुको बिरामी फेला परेपछि सगरमाथा चौधरी आँखा अस्पताल ल्याएर शल्यक्रिया गरिएको शिविर प्रमुख यादवले जानकारी दिनुभयो ।

सगरमाथा चौधरी आँखा अस्पताल लहानले ४३ वर्षमा लगभगा एक करोड बिरामीको जाँच र २५ लाखभन्दा बढि शल्यक्रिया गर्न सफल अस्पताल रहेकै लहान नगरपालिकालाई मोतियाबिन्दुको बिरामीबाट पीडित रहन नदिन अस्पतालसँग सहकार्य गरेर आँखा जाँच शिविर सञ्चालनमा ल्याएको लहान नगरपालिका प्रमुख महेशप्रसाद चौधरीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘दियोको मुनि अँध्यारो रहनु हुँदैन भने उद्देश्यले लहान नगरपालिकालाई मोतियाविन्दु मुक्त बनाउन लागेका छौँ ।’’

शिविरबाट दलित विपन्नहरुले स्वास्थ्य लाभ लिइरहेकोले यस्ता शिविर आयोजना गरेर लहान नगरपालिकाले उपयुक्त कार्यक्रम ल्याएको सगरमाथा चौधरी आँखा अस्पतालका अध्यक्ष रविन्द्रलाल चौधरीले बताउनुभयो । उहाँको अनुसार सिरहा सप्तरीका पालिका स्तरमा समेत शिविर सञ्चालन गरेर आँखा रोग निवारणमा लहान नगरपालिकाले गरेको सहयोग महत्त्वपूर्ण रहेको छ ।

आँखा शिविरबाट आँखा जाँच गराएर मोतियाबिन्दुको शल्यक्रिया गराएर स्वास्थ्य लाभ लिएका दलित विपन्न समुदायहरु निःशुल्कमा जाँच गराएर शल्यक्रिया समेत गराइ दिएका लहान नगरपालिका र सगरमाथा चौधरी आँखा अस्पतालले दृष्टि दिएर सृष्टि हेर्न ज्योति दिएकोमा हर्ष व्यक्त गरेका छन् ।