• २८ कात्तिक २०८२, शुक्रबार

सादगी जीवनले ल्याउने परिवर्तन

blog

  • बलियो मानिस नरम दिलको छैन भने उसको बल व्यर्थ हुन्छ ।
  • बुद्धिमान मानिसले जेसुकै कुरा पनि फलाक्दै, भन्दै सुनाउँदै हिँड्छ भने उसलाई कसैले पनि बुद्धिमान ठान्दैन । धनी मानिस उत्ताउलो र भड्किलो छ भने उसको धनको कुनै अर्थ रहँदैन ।
  • खुसी मानिसले आफ्नो खुसी र आनन्दलाई गोप्य राख्न सक्दैन भने ऊ देखावटी रूपमा मात्र खुसी हो यथार्थमा खुसी होइन, दुःखी हो । 

बलियो मानिस कमलो मनको हुन्छ । बुद्धिमान मानिस मौन बस्छ । धनी व्यक्ति साधा जीवनको सादगी हुन्छ । खुसी मानिस आफ्नो खुसीलाई गोप्य राख्छ । बढी फुरफुर गर्दैन । आफ्नो बलबुता, धनदौलत र आफ्नो खुसीलाई सबैसामु प्रदर्शन गर्न आवश्यक ठान्दैन । बलियो मानिस नरम दिलको छैन भने उसको बल व्यर्थ हुन्छ । बुद्धिमान मानिसले जेसुकै कुरा पनि फलाक्दै, भन्दै सुनाउँदै हिँड्छ भने उसलाई कसैले पनि बुद्धिमान ठान्दैन । धनी मानिस उत्ताउलो र भड्किलो छ भने उसको धनको कुनै अर्थ रहँदैन । खुसी मानिसले आफ्नो खुसी र आनन्दलाई गोप्य राख्न सक्दैन भने ऊ देखावटी रूपमा मात्र खुसी हो यथार्थमा खुसी होइन, दुःखी हो । मुलुक बनाउने हो भने नेता सादा जीवन उच्च विचारका हुनु पर्छ । 

नेताहरूले लगाउने महँगी घडी, चस्मा, जुत्ता, लुगा कपडा र जीवन शैलीका विषयमा बेला बेला आमसञ्चार माध्यममा टीकाटिप्पणी हुने गरेका छन् । यस्ता टिप्पणीप्रति धेरैको मन खिचिएको हुन्छ । नेताहरूमा सादगीपन भयो, कमाएर थुपार्ने प्रवृत्ति गयो भने त्यसको सकारात्मक असर आमजनतामा पर्न जान्छ । जसले गर्दा देशबाटै नकारात्मक सोच अन्त्य हुन जान्छ । मुलुक समृद्धिका बाटोमा अगाडि बढ्छ । 

एक जना ज्येष्ठ नागरिक भारतका कुनै सहरमा एउटा छिँडीको कोठा भाडामा लिएर बसेका थिए । उनले निकै महिनादेखि कोठाको भाडा तिर्न नसकेपछि घरधनीले सरसामान आँगनमा निकालिदिएर अन्तै जान आदेश दिइरहेका थिए । 

छरछिमेकीले ती वयोवृद्धप्रति सहानुभूति देखाएर कोठा केही समयसम्मका लागि त दिनु न भनेर अनुरोध गरेपछि घरधनीले ती ज्येष्ठ नागरिकलाई फेरि बस्न मन्जुरी दिए । ज्येष्ठ नागरिक आँगनमा निकालिएका आफ्ना असरल्ल सामान निरास भएर बोरामा हालिरहेका थिए । 

संयोगले एक ब्रोडसिट दैनिक पत्रिकाका समाचारदाता त्यही घरको बाटो हिँड्दा त्यो दृश्य देखेछन् । समाचारदाताले नब्बे वर्षमाथिका एक जना ज्येष्ठ नागरिकको त्यस्तो दुरवस्था देखेपछि त्यसको विवरण टिपोट गरे । समाचारदाताले ती व्यक्तिको नाम सोधेका थिए तर उनले नाम बताउन इन्कार गरे । ज्येष्ठ नागरिककोे सुटुक्क फोटो पनि खिचेर घरवारविहीन एक ज्येष्ठ नागरिकको दूरवस्थाको समाचार बनाएर फोटोसहित ती समाचारदाताले आफ्नो पत्रिकाको कार्यालयमा बुझाए । 

नवयुवक समाचारदाताले ती ज्येष्ठ नागरिकलाई चिन्न नसके पनि उनका पाका सम्पादकले फोटो देख्ना साथ चिनिहाले । ज्येष्ठ नागरिक अरू कोही नभएर जवाहरलाल नेहरूपछि र लालबहादुर शास्त्रीपछि विशाल भारतको दुई पटक कार्यवाहक प्रधानमन्त्री बनेका व्यक्ति गुलजारीलाल नन्दा थिए । भारतको दुई पटक कार्यवाहक प्रधानमन्त्री बने पनि उनले आफ्नो सुख सयलका लागि सम्पत्ति थुपारेर राखेनन् । भारतका कुनै पनि बैङ्कमा उनको खातासमेत थिएन । उनी सादगी र गान्धीवादी नेता थिए । त्यस बेला उनी ९४ वर्षका थिए । 

त्यसको भोलिपल्ट पत्रिकाले ब्यानर शीर्षकमा एउटा सनसनीपूर्ण समाचार छाप्यो “भारतका पूर्वप्रधानमन्त्री गुलजारीलाल नन्दाको दुरवस्था ।” त्यसपछि मुलुकका बहालवाला प्रधानमन्त्रीदेखि उच्चपदस्त अधिकारी, पत्रकार, उद्योगपति, लेखक, कवि, कलाकार सबै जसो ती ज्येष्ठ नागरिकका कोठामा पुगे । त्यो देखेर घरधनीलगायत सबै छरछिमेकी आश्चर्यचकित परे । आफ्ना विषयमा कसैसँग केही पनि नभनी बसेका ती वृद्ध को रहेछन् भन्ने सबैले थाहा पाए । त्यो देखेर घरधनीलगायत सबै छिमेकीले समेत ती ज्येष्ठ नागरिकलाई विशेष सम्मान गरे । 

सरकारले उनलाई सुविधा सम्पन्न क्वाटर बनाइदिने आश्वासन दियो । उनले भने, “मलाई सुविधा सम्पन्न क्वाटर चाहिँदैन, उमेर छँदा त मैले कुनै सुख भोग गरिनँ, अब मलाई त्यसको के काम ? मलाई भाडाको एउटा कोठा नै पर्याप्त छ ।” 

हाम्रै छिमेकी देश भारतमा यस्ता घटना अनगन्ती पाइन्छन् तर हाम्रो देशमा ? कोही प्रधानमन्त्री, मन्त्रीलगायत उच्च पदस्त मात्र होइन मालपोत, भन्सार, अन्तशुल्क, कर आदि कार्यालयको खरदार, सुब्बाले पनि सातपुस्तालाई पुग्ने धनदौलत थुपार्न पछि पर्दैनन् । मुलुकमा नोटबन्दी भएर देखिएको विकराल समस्याको पर्दाफास हालसालै हुँदै छ । नेताहरूमा देखिएको खराब प्रवृत्तिले मुलुकका तल्लो तहसम्म नै प्रतिकूल असर मुलुकले बेहोरिरहेको छ । देश र जनताको पर्वाह नगरी धनदौलत थुपार्ने प्रवृत्ति अन्त्य नभएसम्म हाम्रो मुलुक बन्ला र ? 

मुलुक बनाउन सत्तामा पुगेकाले आफ्नो अहङ्कार र सम्पत्ति मोह त्याग गर्न सक्नु पर्छ । यहाँ त सत्ताको मात लागेकाहरू गोमन सापले फँडा फिँजाए जस्तो गर्छन् । त्यस्ता अहङ्कारी देखेर घृणा लाग्छ मुलुकका मन्त्री जेब्राक्रसिङमा बाटो काट्दै गरेकी एक युवतीलाई गाडीले ठक्कर दिएर हतार हतार भाग्छ, ती घाइतेको अवस्थाबारे कुनै चासो राख्दैन । यो संवेदनहीनताको चरम विन्दु हो । सर्वसाधारण मानिसलाई नैतिकता र सादगीपनको शिक्षा दिनुपर्ने व्यक्ति नै त्यस्ता नैतिकहीन र चरम संवेदनाहीन बन्छन् भने अरूबाट के शिक्षा पाउने ? के अपेक्षा राख्ने ? 

एक दिन नयाँ सडकमा एउटा बाइकले साइकलवालालाई ठक्कर दियो । सडक किनारामा हिँडिरहेका यात्रु टक्क अडिए । त्यहीँ रहेको पङ्क्तिकार टक्क अडियो । मोटरसाइकलवालाले सडक छेउतर्फ रहेका साइकलवालालाई हान्यो । गल्ती भने मोटरसाइकलवालाको थियो । 

एक जना ट्राफिक प्रहरीले त्यो दृश्य सुरुदेखि देखेको थियो । ट्राफिक प्रहरीले मोटरसाइकलवालातिर फर्केर सोध्यो “बाइक राम्ररी चलाउन आउँदैन तपाईंलाई ? कसरी चलाउनु भएको बाइक ? लाइसेन्स दिनुहोस् । ”

मोटरसाइकल चालकले आफ्नो खल्तीबाट मनी ब्याग झिकेर लाइसेन्सभन्दा पहिले आफ्नो परिचयपत्र झलक्क देखाइदियो । त्यो देख्नासाथ ट्राफिक प्रहरीले आफ्नो शरीर तनक्क तन्कायो अनि आफ्नो टोन परिवर्तन गरेर घाइते भएर बसिरहेका साइकलवालातिर झम्टिँदै भन्यो “यी साइकलवाला जथाभाबी साइक चलाउँछन् अनि यस्तो दुर्घटना हुन्छ । भाग !”

प्रहरीले मोटरसाइकलवालालाई भन्यो, “हजुर, सवारी होस्, यी साइकलवाला यस्तै हुन् । माफ रहोस् ।” हामी हेरेका हेरेकै भयौँ । एकैछिनमा ट्राफिकको व्यवहारमा फेरबदल आएको देखेर साइकलवाला ट्वाल्ल परेर हेर्न थाल्यो । 

अजब देश गजब चाला, लाग्यो त्यो ट्राफिक प्रहरीले सिङ्गो देशकै शासन व्यवस्थाको प्रतिनिधित्व गरिरहेको थियो । हामी मूकदर्शक बन्यौँ । मुलुकमा सत्तामा भएकाहरूमा विवेक हरायो भने त्यसको दूरगामी असर हरेक क्षेत्रमा पर्छ भन्ने सन्देश दिइरहेको थियो । 

फ्रान्समा राज्यक्रान्तिपछि हरेक तह र तप्काको सोचमा परिवर्तन भए जस्तो नेपालमा पनि भर्खरै सम्पन्न नवयुवाको विद्रोहपछि परम्परागत सोच र चिन्तनमा युगानुकूल परिवर्तन आउनु अपरिहार्य छ । भविष्यमा कुनै दिन यसले ल्याउने गम्भीर परिणाम खप्न हामी सबै तयार रहनुको विकल्प छैन । त्यस्तो अवस्था आउनुअघि हामीले आफूलाई सुधार गरौँ ।