• २८ कात्तिक २०८२, शुक्रबार

सुस्ता गाउँमा तत्काल तटबन्ध निर्माणको माग गर्दै प्रधानमन्त्रीलाई मागपत्र

blog

जिल्ला प्रशासन कार्यालय मार्फत मागपत्र बुझाउदै । तस्बिर : पुरुषोत्तम सुबेदी

पुरुषोत्तम सुबेदी
पश्चिम नवलपरासी,  कात्तिक , २८ गते । 
पश्चिम नवलपरासीको सुस्ता गाउँलाई नारायणी नदीको कटान र बाढीबाट जोगाउनका लागि सुस्ता बचाउ अभियानले नेपाल सरकारका विभिन्न मन्त्रालयहरूमा तत्काल तटबन्ध निर्माणको माग गर्दै  मागपत्र बुझाएको छ ।

अभियानको टोलीले बिहीबार जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, र अर्थ मन्त्रालयमा औपचारिक रूपमा उक्त मागपत्र पठाएका हुन् । मागपत्र बुझाउने क्रममा अभियानको टोलीमा लुम्बिनी प्रदेश सरकारका वन तथा वातावरण मन्त्री देवकरण प्रसाद कलवार ‘सन्तु’को पनि सहभागी रहेको थियो ।

मागपत्रको मुख्य विषयवस्तु सुस्ता गाउँलाई सुरक्षित राख्न नारायणी नदीको किनारमा करिब दुई किलोमिटर लामो तटबन्ध तत्काल निर्माण गर्नु रहेको छ । अभियानका कार्यवाहक अध्यक्ष आदम खांका अनुसार, तटबन्धको अभावमा वर्षायाममा नारायणी नदीमा पानीको सतह बढ्दा सिधै सुस्ता गाउँमा पस्ने गरेको छ । बाढीले खेतीयोग्य जमिन डुबानमा पार्ने र घरहरू जोखिममा पार्ने समस्या वर्षैपिच्छे दोहोरिँदै आएको छ ।

“नारायणी नदीबाट  सुस्तामा पानि पस्दा  प्रतेक वर्ष  कटान हुँदै आएको छ । सुस्ता बचाउ अभियानका प्रवक्ता रवीन्द्र जयसवालका अनुसार, यदि समयमै २ किलोमिटर तटबन्ध निर्माण नभए, यो गाउँको अस्तित्व नै जोखिममा पर्नेछ। हामीले जीवन र जमिन बचाउन सरकारको ध्यानाकर्षण गराएका छौँ ।’’

प्रमुख जिल्ला अधिकारी (प्रजिअ) कृष्ण प्रसाद लम्सालले मागपत्र बुझ्दै सुस्तावासीको समस्याप्रति आफू गम्भीर रहेको बताउँदै ज्ञापनपत्रलाई तत्कालै सम्बन्धित मन्त्रालयहरू— प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र अर्थ मन्त्रालयमा पठाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

अभियानका प्रवक्ता रवीन्द्र जयसवालका अनुसार, बुझाइएको मागपत्रको प्रभावकारिता र सरकारको प्रतिक्रियाबारे थप दबाब दिनका लागि सुस्ता बचाउ अभियानको टोली एक साताभित्रै पुनः काठमाडौँ जाने योजनामा रहेको छ ।

यो कदमले सुस्तावासीले आफ्नो जीवन र भूमि रक्षाका लागि गरेको सङ्घर्षलाई सरकारी स्तरमा उठाउन थप सहयोग पुग्ने अपेक्षा गरिएको छ ।