घोडाघोडी समाचारदाता
घोडाघोडी (कैलाली), कात्तिक २८ गते । हरेक वर्ष सीता विवाहपञ्चमी तिथिमा गरिने थारू समुदायको परम्परागत लवाङ्गी पूजा यस वर्ष पनि मङ्सिरमा धुमधामसाथ गरिने भएको छ । पश्चिम तराईका थारू समुदायको सबैभन्दा ठुलो देउथल घोरिघोरा मन्दिरमा हुने लवाङ्गी पूजाका अवसरमा तीन दिनसम्म थारू सांस्कृतिक महोत्सवसमेत हुने भएको छ । घोरिघोरा नगर भलमनसा कार्यसमिति, सन्त समागम समाज र घोडाघोडी तथा संस्कृति संरक्षण समाजको संयुक्त आयोजनामा पूजा तथा सांस्कृतिक महोत्सव हुने भएको हो ।
समितिका संयोजक एवं नगर भलमनसा कार्यसमितिका अध्यक्ष बुधराम चौधरीले थारू समुदायले पराम्परागत रूपमा मान्दै आएको लवाङ्गी पूजामा सबै जना सहभागी हुने भएकाले पूजा व्यवस्थापनका लागि तयारीमा जुटेको बताउनुभयो । उहाँले थारू समुदायको परम्परागत मौलिक संस्कृतिसँग लवाङ्गी पूजा जोडिएकाले यसको संरक्षण र प्रचारप्रसारका लागि सांस्कृतिक महोत्सवसमेत आयोजना गरिएको जानकारी दिनुभयो । कैलाली, कञ्चनपुर, बाँके, बर्दिया, दाङ जिल्लाबाट समेत लवाङ्गी पूजामा सहभागिता रहन्छ ।
महोत्सवमा थारू समुदायको झाँकी, बर्का नाच, सखिया नाच, मुग्रहुवा नाच, कठघोरी नाचलगायतका नृत्य प्रस्तुति तथा थारू कलाकारको विशेष प्रस्तुति रहनुका साथै थारू समुदायको परम्परागत खानाका परिकारको प्रचारप्रसारका साथै बजारीकरण गरिने छ । सन्त समागम समाजका अध्यक्ष कप्तान चौधरीले पूजा कार्यक्रममा कैलालीका १७३ गाउँका भलमनसा, गुरुवा र चिराकीहरूको सहभागिता हुने उल्लेख गर्नुभयो ।
थारू समुदायले परम्परागत रूपमा नयाँ बाली घरमा भित्र्याएपछि पहिले देवतालाई चढाएर मात्र उपभोग गर्ने चलन छ । लवाङ्गीको अर्थ नयाँ रहेको र विशेष गरी नयाँ अन्न देउतालाई चढाएर मात्र खाने चलन भएकाले लवाङ्गी पूजा गर्ने चलन रहेको समाजका अध्यक्ष एवं आयोजक समितिका सदस्य कप्तान चौधरीले जानकारी दिनुभयो । घर घर र गाउँसमाजमा व्यक्तिगत तथा सामूहिक रूपमा गरिने यो पूजा पछिल्लो दुई दशकयता घोडाघोडी मन्दिरमा भव्य रूपमा सांस्कृतिक महोत्सव आयोजना गरी मनाउन थालिएको छ । थारू समुदायको संस्कृतिसँग जोडिएको लवाङ्गी पूजा कैलालीको घोडाघोडी मन्दिरमा भने थारू पहाडी दुवै समुदायले पूजा आजा गर्ने गर्छन् ।
पश्चिम नेपालका थारू समुदायको ठुलो देउथलका रूपमा घोडाघोडी मन्दिरलाई लिने गरिन्छ । कैलालीको घोडाघोडी नगरपालिकामा रहेको विश्व रामसार साइटमा सूचीकृत घोडाघोडी तालसँगै रहेको घोडाघोडी मन्दिरमा थारू र पहाडी समुदायले लवाङ्गी पूजा कार्यक्रममा सहभागी हुने गरेका छन् । भाकल गरेकाहरूले लवाङ्गी पूजाकै दिन घोडाघोडी मन्दिरमा सुँगुर, कुखुरा, बोका, हाँसको बलि दिने चलनसमेत रहेको स्थानीय यमलाल सापकोटाले बताउनुभयो ।