गोरखापत्र समाचारदाता
ललितपुर, कात्तिक २८ गते । नेपाल भाषा केन्द्रीय विभागले बुधबार ‘नेपाल भाषा जर्नल’ सार्वजनिक गर्नुका साथै विभिन्न पुरस्कार प्रदान गरेको छ । भाषा आयोगका सदस्य सुरेशकिरण मानन्धर, केन्द्रीय विभागका प्रमुख डा. राजनलाल जोशी, निवर्तमान प्रमुख प्राडा ओमकारेश्वर श्रेष्ठ र पाटन कलेजका प्रमुख डा. रघुवीर विष्टले सामूहिक रूपमा अनुसन्धानमूलक लेखरचनाको सङ्ग्रह ‘नेपाल भाषा जर्नल’ विमोचन गर्नुभयो ।
सोही अवसरमा विभिन्न पुरस्कार र त्रिवि छात्रवृत्ति पुरस्कार पनि वितरण गरिएको थियो । यसै गरी नेपाल भाषा केन्द्रीय विभागले उपप्राध्यापक शरदवीर कंसाकार र लेखा अधिकृत दीपक सन्जेललाई पनि सम्मान गरेको थियो ।
नेपाल भाषा स्नातकोत्तर तहमा प्रथम हुने रामेश्वर श्रेष्ठले पीयूष पदक र श्रेष्ठ पदक प्राप्त गर्नुभयो । दोस्रो हुने नितु डङ्गोल र तेस्रो हुने हसना महर्जनलाई पनि श्रेष्ठ पदक प्रदान गरिएको थियो । यसै गरी उत्कृष्ट अनुसन्धान शोधग्रन्थ तयार पार्ने विद्यार्थीलाई दिइने सत्यहेरा अनुसन्धान सिरपा पञ्चलाल महर्जनले प्राप्त गर्नुभयो । अनुसन्धान शोध ग्रन्थमा उत्कृष्ट हुने अर्की विद्यार्थी पूजा मानन्धरलाई योगवीरसिंह अनुसन्धान वृत्तिले सम्मान गरियो ।
प्रमुख अतिथि समाजसेवी पञ्चवीरसिंह तुलाधरले महिला विद्यार्थीका लागि स्थापना गर्नुभएको पुष्पदेवी छात्रवृत्ति नानीहेरा शाक्य, बिलदेवी महर्जन, नीता तुलाधर र प्रमिला महर्जनलाई प्रदान गरियो । त्रिवि छात्रवृत्ति सुजना महर्जन, महेश्वरी महर्जन, समस्ती शाक्य र रामजी बलामीले पाउनुभयो । यसै गरी कृष्णदेवी हरिगोपाल खयरगुली छात्रवृत्ति ज्ञानराम श्रेष्ठलाई प्रदान गरियो ।
भाषा आयोगका सदस्य मानन्धरले नेपाल सरकारका लागि आवश्यक योग्य र दक्ष जनशक्ति नेपाल भाषा केन्द्रीय विभागले उत्पादन गर्न आवश्यक रहेको बताउनुभयो । यसै गरी पाटन कलेजका प्रमुख डा. विष्टले पाटन क्याम्पसको प्राङ्गणमा नेपाल भाषा केन्द्रीय विभाग रहनु ठुलो अवसर र सम्मान हो भन्नुभयो । उहाँले केन्द्रीय विभागले इतिहास, साहित्य, भाषासंस्कृति र पहिचानको उत्थानमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको धारणा राख्नुभयो । यसै गरी केन्द्रीय विभागका प्रमुख डा. जोशीले पुरस्कार दाताहरूलाई धन्यवाद र पुरस्कृत हुने उत्कृष्ट विद्यार्थीलाई बधाई दिनुभयो ।