• २८ कात्तिक २०८२, शुक्रबार

अर्गानिक तरकारी खेतीमा महिला

blog

धनगडीमाई नगरपालिका–१४ मा महिला समूहले अर्गानिक विधिबाट फलाएको परबर र बोडी । तस्बिर : जीवछ यादव

जीवछ यादव

लहान, कात्तिक २८ गते । धनगडीमाई नगरपालिका–१४ उत्तरी भेगमा पर्ने अम्बासका महिला समूहले अर्गानिक तरकारी खेती गरेर राम्रो आम्दानी गरिरहेका छन्  । दलित जनकल्याण युवा क्लब लहानले एक्सनएडको सहयोगमा बनाएका चार समूहका सय जना महिला तरकारी खेतीमा लागेका छन् । 

त्यसका लागि आवश्यक प्राविधिक ज्ञान, बिउ र बजार व्यवस्थापनका लागि सहयोग गरेपछि विकट गाउँका रूपमा रहेको अम्बासका महिला तरकारी खेतीबाट नै आत्मनिर्भर हुन थालेको हरियाली कृषक समूहका अध्यक्ष हेमकुमारी गिरीले बताउनुभयो । 

उहाँका अनुसार यस भेगका किसानले धान, मकैको खेती र पशुपालन गरेर जसोतसो जीविका गर्दै आएका थिए । चार समूहका महिलाले अहिले आफ्नै पशुको गोबरबाट प्राङ्गारिक मल र निम खुर्सानी मिलाएर बनाएका विषादी प्रयोग गरेर बोडी परबर, गोलभेँडा, कोपी, आलु, लसुन र च्याउ उत्पादन गर्न थालेका छन् ।

गिरीले भन्नुभयो, “दुई कट्ठा खेतमा गरेको परबर खेतीबाट वैशाखदेखि कात्तिकसम्म दुई लाख रुपियाँ आम्दानी गरेका छौँ । चार वटै समूहका महिलाले यसरी नै विभिन्न किसिमका तरकारी फलाएर जीविकोपार्जन र आम्दानी गरिरहेका छन् ।”

अम्बाससम्म मदन भण्डारी सडक निर्माण भएकाले तरकारी बजारसम्म पु¥याउन समस्या नरहेको र अर्गानिक विधिबाट गरिएको तरकारीको माग पनि बढिरहेकाले महिला समूहहरू तरकारी खेतीका लागि हौसिएको दलित जनकल्याणका सहजकर्ता प्रेम रामले बताउनुभयो । 

अर्गानिक तरकारी उत्पादन गर्न आवश्यक प्राविधिक तालिम र सिँचाइका लागि धनगडीमाई नगरपालिकाको परिषद्बाट समेत पारित गरेर अर्गानिक तरकारी खेती र विषादीमुक्त वडा घोषणा गर्ने गृहकार्यमा रहेको वडाध्यक्ष अमित ठकुरीले बताउनुभयो  ।